संविधान कार्यान्वयन गर्दै व्यवस्था बलियो बनाउनु नै अबको एजेन्डा : उर्जामन्त्री भुसाल

काठमाडौं, असोज २३ : नेकपा (माओवादी केन्द्र) की उपमहासचिव एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिनिधिसभा सदस्य पदका लागि ललितपुरको क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।
ललितपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेल पुगेर उनले आज मनोनयन दर्ता गराएकी हुन् । उनीसहित पाँच दलीय गठबन्धका नेताहरू नेवारी झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधान कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताइन्। उनले अब आफ्नो मुद्दा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको बताइन्।
मन्त्री भुसालले भनिन्, ‘संविधानको कार्यान्वयन र संस्थागत गर्ने प्रक्रिया हो । लोकतन्त्रलाई बलियो बनाउने प्रक्रिया हो । यो क्षेत्र मैले दुई पटक जितेको क्षेत्र हो । त्यसैले यही क्षेत्रमा जनताको, व्यवस्थाको सेवा गर्ने नयाँ प्रण गरेर उम्मेदवारी दर्ता गरेको छु ।’
उनीसँगै ललितपुर निर्वाचन क्षेत्र नं ३ को (क)बाट माओवादीका केन्द्रीय सदस्य राजकाजी महर्जनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् भने (ख)बाट नेपाली कांग्रेसका नेता जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।









