Kathmandu Press

शेखर कोइरालाद्वारा मोरङ ६ मा उम्मेदवारी दर्ता

शेखर कोइरालाद्वारा मोरङ ६ मा उम्मेदवारी दर्ता

काठमाडौं, असोज २३ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन्। मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उहाँले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराए। 

कोइरालासँगै मोरङ निर्वाचन क्षेत्र नं ६ ९ख० का लागि प्रदेशसभा सदस्यका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि मनोनयन दर्ता गराएका छन्। डा कोइरालाले गठबन्धनको नेतृत्व गरेको कांग्रेसकै नेतृत्वमा बनेको सरकारले निर्वाचन पनि गर्ने भएकाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने विश्वास व्यक्त गराए। 
    
निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आपसी सल्लाह, रणनीति र समन्वय हुने भन्दै डा कोइरालाले भने, ‘आसन्न निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । पार्टीको जग बसाल्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको विरोध गरेको हो, प्रतिनिधिसभा र प्रदेशसभाका लागि होइन, आसन्न निर्वाचनमा हामी हाम्रो गठबन्धनसँग मिलेर जाने हो।’ यसैगरी, मोरङ निर्वाचन क्षेत्र नं ६ का लागि प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले)का नेता लालबाबु पण्डितले पनि आफ्ना मनोनयन दर्ता गराएका हुन् ।
    
उनले सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जनताका चाहना अनुसार आफूले काम गरेकाले जनताले मलाई रुचाउने विश्वास व्यक्त गरे । जनताका चाहना नै मेरो निर्वाचनको एजेण्डा भएकाले आफू यस क्षेत्रको अब्बल उम्मेदवार भएको उनले प्रष्ट पारे। 

साथै, मोरङ निर्वाचन क्षेत्र नं ५ (ख)बाट प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मनोनयन दर्ता गराएका छन्। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारको मनोनय दर्ताको काम जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए। 

प्रकाशित मिति: १६:५४ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्