Kathmandu Press

शीर्ष नेताहरु कसले कहाँबाट गराए उम्मेदवारी दर्ता ? 

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयनपत्र दर्ता गराइसकेका छन्। 
शीर्ष नेताहरु कसले कहाँबाट गराए उम्मेदवारी दर्ता ? 

काठमाडौं, असोज २३ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो । 

निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

यसका लागि आयोगले आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि डडेल्धुराबाट मनोनयनपत्र दर्ता गर्ने भएका छन्। 

प्रधानमन्त्री देउवाको मनोनयन दर्ताका लागि उनकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा शनिबार नै डडेलधुरा पुगेकी थिइन् । आइतबार दिउँसो डा. देउवाले प्रधानमन्त्रीको मनोनयन दर्ता गराउनेछिन्। 

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयनपत्र दर्ता गराइसकेका छन्। 

यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गर्दै छन्। उनी मनोनयनका लागि त्यस क्षेत्रमा प्रस्थान गरिसकेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट मनोनयन दर्ता गराइसकेका छन्। सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको क्षेत्र–१ बाट मनोनयनपत्र दर्ता गराउनेछन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र–३ निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनय पत्र दर्ता गराइसकेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको क्षेत्र–३ बाट र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गराउनेछन् ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म, मनोनयपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।
 
यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। 

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्