यी हुन् काठमाडौंमा माओवादीका उम्मेदवार, क्षेत्रनम्बर ९ मा कल्पना धमला
नेकपा माओवादी केन्द्रले काठमाडौंमा उम्मेदवारको टुंगो लगाएको छ ।
काठमाडौं, असोज २३ : नेकपा माओवादी केन्द्रले काठमाडौंमा उम्मेदवारको टुंगो लगाएको छ ।
गठबन्धनको भागबण्डामा प्रतिनिधि सभातर्फ काठमाडौंको तीन क्षेत्र पाएको माओवादीले उम्मेदवार टुंग्याएको हो । भागबन्डामा माओवादीले काठमाडौं २, ७ र ९ पाएको थियो ।
काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्तीले टिकट पाएकी छन् । उनी पार्टी उपमहासचिव वर्षमान पुनकी श्रीमती पनि हुन् । त्यस्तै क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराई माओवादी केन्द्रकी उम्मेदवार बनेकी छन् । उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी हुन् ।
भट्टराईले माओवादी केन्द्रकै चुनाव चिह्न र घोषणा पत्र लिएर चुनाव लड्न प्रचण्डसँग सहमति गरेपछि मानुषीले टिकट पाएकी हुन् । उनी आफैले भने यसपटक चुनाव नलड्ने घोषणा गरेका छन् । उनी चुनाव नलड्ने भएपछि गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड चुनाव लड्ने भएका छन् ।
काठमाडौं–९ मा माओवादीले यसपटक कल्पना धमलालाई टिकट दिएको छ । धमला २०६४ र २०७० को निर्वाचनमा धादिङ क्षेत्रनम्बर २ मा माओवादीकी उम्मेदवार थिइन् । ०६४ मा विजयी भएकी उनी ०७० को निर्वाचनमा भने एमालेका गुरुप्रसाद बुर्लाकोटीसँग पराजित भएकी थिइन् ।

-1786106234.jpg)




-1786106234.jpg)




