भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाऔं : मन्त्री भट्टराई
काठमाडौं, मंसिर २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीलाई नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रु....

काठमाडौं, मंसिर २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीलाई नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन अपिल गरेका छन्।
मन्त्री भटराईले नेपाल भ्रमण वर्ष–२०२० देशको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको भन्दै यसका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताए।
नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले पर्यटन व्यवसायीसँग गरेको छलफलमा मन्त्री भट्टराईले पर्यटन व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्राको गर्न आग्रह गरे। ‘सरकार तपाईहरुको साथमा छ, तर अब तपाईँहरु पनि माग मात्रै नराख्नुहोस्। सबै मिलेर काम गरौं,’ उनले भने।
उनले भ्रमणलाई भव्य रुपमा सफल पार्न पर्यटन व्यवसायीको सक्रिय सहभागिताको लागि अपिल गरे। ‘नेपाल भ्रमण वर्ष–२०२० लाई उत्सवको रुपमा भव्यताको साथ मनाऔं,’ मन्त्री भट्टराईले भने, ‘हरेक पर्यटन व्यवसायीहरुले उद्घाटनको दिन भव्य दीपवाली गर्नुहोस्। कार्यक्रममा पहिचान सहित आउनुहोस्।’
कार्यक्रममा मन्त्रालयका सचिव केदाबहादुर अधिकारी, नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले भ्रमण वर्षको तयारीबारे बोलेका थिए।
कार्यक्रममा व्यवसायी तथा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संगठनका अगुवाले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल बनाउन सक्रिय हुने प्रतिबद्धता जनाए।











