Kathmandu Press

कांग्रेसले टुंग्यायो १० उम्मेदवार : डडेलधुरामा देउवा, दार्चुलामा बडु

शनिबार बिहानसम्म बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति शेर बहादुर देउवाको गृहजिल्लासहित केही निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । 
कांग्रेसले टुंग्यायो १० उम्मेदवार : डडेलधुरामा देउवा, दार्चुलामा बडु

काठमाडौं, असोज २२ : नेपाली कांग्रेसले मंसिर ४ गतेको निर्वाचनका लागि केही उम्मेदवारकाे टुंगाे लगाएकाे छ।

शनिबार बिहानसम्म बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति शेर बहादुर देउवाको गृहजिल्लासहित केही निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । 

जसअनुसार डडेलधुरामा प्रतिनिधि सभातर्फ सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै हाल उद्योगमन्त्री रहेका दिलेन्द्रप्रसाद बडुलाई दार्चुलाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय भएको छ । बडु संस्थापन इतरका हुन् । 

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार बन्ने पक्का भएका छन् । त्यस्तै मनाङमा पूर्वमन्त्री टेकप्रसाद गुरुङलाई उठाउने निर्णय भएको छ।

अछाम जिल्ला सभापति पुष्पबहादुर शाहलाई अछाम २ बाट उम्मेदवार बनाउने निर्णय भएको छ भने मुगुका सभापति ऐनबहादुर शाहीले पनि अवसर पाउने भएका छन् ।अघिल्लो निर्वाचनमा पराजित सीता गुरुङले तेह्रथुमबाट पुनः अवसर पाउने भएकी छन् ।

त्यस्तै प्रदेशतर्फ जुम्ला ख बाट ललितजङ्ग शाही र तेह्रथुम क बाट सन्तोष सुब्बाले अवसर पाउने भएका छन् । ताप्लेजुङ ख बाट खेगन सिंह हाङवाङलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको संसदीय बोर्डले गरेको छ ।

कांग्रेस संसदीय बोर्डको शनिबार बस्ने बैठकले बाँकी उम्मेदवारहरू तय गर्नेछ ।

प्रकाशित मिति: ०९:३९ बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्