जसपाले एमालेसँग माग्यो २४ सिट, २२ सिट दिन एमाले तयार
एमालेले प्रतिनिधि सभातर्फ मधेश प्रदेशका १६ निर्वाचन क्षेत्र र अन्य जिल्लाका ६ निर्वाचन क्षेत्र जसपालाई दिने बताइरहँदा जसपाले भने मधेश प्रदेशबाहेकका अन्य ८ क्षेत्रमा दाबी गरेको छ।
काठमाडौैं, असोज २१ : सत्तारुढ गठबन्धनमा असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा) ले मंसिर ४ मा हुने संघीय निर्वाचनमा एमालेसँग तालमेल गर्नेगरी छलफल अगाडि बढाएको छ ।
बिहीबार जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटारको बैठक छाडेर एमाले अध्यक्ष ओलीसँग भेट्न बालकोट पुगेका थिए । जसपाले न्युनतम २४ सिट पाएको अवस्थामा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । एमालेले भने जसपालाई २२ सिट दिएर आगामी निर्वाचनमा तालमेल गर्ने रणनीति लिएको एक नेताले बताए ।
एमालेले प्रतिनिधि सभातर्फ मधेश प्रदेशका १६ निर्वाचन क्षेत्र र अन्य जिल्लाका ६ निर्वाचन क्षेत्र जसपालाई दिने बताइरहँदा जसपाले भने मधेश प्रदेशबाहेकका अन्य ८ क्षेत्रमा दाबी गरेको छ। जसपाका एक नेताका अनुसार जसपाले दाबी गरेअनुसारकै सिट संख्यामा सहमति हुने सम्भावना प्रबल छ ।
एमालेले यसअघि नै गठबन्धनले सिट बाँडफाँटको टुगो लगाएपछि मात्रै उम्मेदवारको टुंगो लगाउने बताउँदै आएको छ । गठबन्धन भित्रको असन्तुष्टि हेरेर मात्रै उम्मेदवार चयन गर्ने रणनीति एमालेको छ । जसपा बाहिरिएपछि गठबन्धनका अन्य दल दबाबमा परेका छन् ।
गठबन्धनमा रहेका अन्य दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा छन् । जसपा बाहिरिँदा गठबन्धनमा पर्ने असर र आगामी रणनीतिसँगै सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरु छलफलमा छन् ।

-1786106234.jpg)




-1786106234.jpg)




