भारतविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित
लखनउमा बिहीबार राति भएको वर्षा प्रभावित खेल दक्षिण अफ्रिकाले भारतमाथि ९ रनको रोमाञ्चक जित निकालेको हो।
नयाँ दिल्ली, असाेज २१ : भारतविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भ्रमणकारी टिम दक्षिण अफ्रिका विजयी भएको छ। लखनउमा बिहीबार राति भएको वर्षा प्रभावित खेल दक्षिण अफ्रिकाले भारतमाथि ९ रनको रोमाञ्चक जित निकालेको हो।
पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको २५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २४० रन मात्र बनाउन सक्यो । उसका लागि सञ्जु सामसनले सर्वाधिक ८६ रन बनाए। उनले ६३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, श्रेयस अय्यरले ३७ बलमा ८ चौकासहित ५० रनको अर्धशतकीय पारी खेल्दा शार्दुल ठाकुरले ३३, इशान किशनले २० र ऋतुराज गायकवाडले १९ रनको योगदान दिए बनाए ।
दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले ३ तथा कागिसो रवाडाले २ विकेट लिए ।
लखनऊस्थित अटल बिहारी क्रिकेट स्टेडियममा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनायो।
उसका लागि डेविड मिलर र हेनरिक क्लासेनले उत्कृष्ट पारी खेले ।
७५ रनमा अविजित रहेका मिलरले ६३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दा क्लासेनले ६५ बलमा ६ चौका र २ छक्कासहित अविजित ७४ रन बनाए ।
यस्तै, क्विनटन डि ककले ४८ र जान्नेमन मलानले २२ रन जोडे । भारतका लागि शार्दुल ठाकुरले २ तथा रवि विश्नोइ र कुलदीप यादवले १–१ विकेट लिए ।
यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो एकदिवसीय आइतबार हुनेछ ।











