‘गोपी’को असफलता मेरो जिम्मेवारीः विपिन कार्की
अभिनेता विपिन कार्कीले ‘गोपी’को असफलताको जिम्मेवारी लिएका छन् । आफ्नो नयाँ फिल्म ‘परी उड्न देउ’ घोषणा कार्यक्रममा उनले सोमबार पत्रकारहरूसँग भने....

अभिनेता विपिन कार्कीले ‘गोपी’को असफलताको जिम्मेवारी लिएका छन् । आफ्नो नयाँ फिल्म ‘परी उड्न देउ’ घोषणा कार्यक्रममा उनले सोमबार पत्रकारहरूसँग भने, ‘गोपीको असफलता मेरो पनि जिम्मेबारी हो । फिल्म सफल हुँदा मैले काम गरेको थिएँ भन्ने र असफल हुँदा मेरो काम होइन भन्ने गर्दिनँ ।’
पत्रकार दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’ अहिले दोस्रो सातामा चलिरहेको छ । समीक्षकहरूले रुचाए पनि ‘गोपी’ले व्यापार भने खासै गरेको छैन । लामाको पहिलो फिल्म ‘घामपानी’ले समीक्षकको प्रशंसासँगै व्यापार पनि गरेको थियो । यसैले, ‘गोपी’बाट पनि दर्शकले धेरै अपेक्षा राखेका थिए ।
‘गोपी’ले सोचेजस्तो दर्शकको माया पाउन नसकेको कारण आफू दुःखी रहेको विपिनले बताए । सामाजिक मुद्दामा आधारित ‘गोपी’ असफल भए पनि उनको नयाँ फिल्म ‘परी उड्न देउ’ पनि सोसल ड्रामा नै हुनेछ ।
‘परी उड्न देउ’ मार्फत म्युजिक भिडियो सम्पादनमा चर्चित निशान कश्यप (घिमिरे)ले निर्देशक बन्दैछन् । यो फिल्ममा विपिनसँगै नव नायिका सृष्टि खड्का देखिनेछिन् । डेढ करोड बजेटमा बन्ने यो फिल्म नेपालको काठमाडौं र चितवन लगायत भारतको राजस्थानमा पनि छायांकन हुन छ ।
आगामी कार्तिक अन्तिमतिर रिलिज हुने यो फिल्मको छायांकन बैशाखमा सुरु हुनेछ ।












