बारा बस दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

काठमाडौं, असोज २० : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको जीतपुर–सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको बताएका छन्।
आज एक वक्तव्य जारी गर्दै उनले दुर्घटनाका मृतकमा श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
अध्यक्ष प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। सो दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।
उनले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारी गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरे।
अध्यक्ष प्रचण्डले सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन निर्देशन दिए।

-1786106234.jpg)




-1786106234.jpg)




