१३ औं साग : पदकमा सफल, व्यवस्थापनमा कमजोर
काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले घरेलु मैदानको फाइदा उठाए।
तर खेलकुदका पदाधिकारीहर....
काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले घरेलु मैदानको फाइदा उठाए।
तर खेलकुदका पदाधिकारीहरुले भने व्यवस्थापनमा आफूलाई फितलो सावित गरे। समग्रमा प्रतियोगिताको हिसावले सफल भएको सागमा नेपालले कुल ५१ स्वर्ण जित्दै ऐतिहासिक सफलता हात पार्यो।
अन्तिम स्वर्णका रुपमा नेपालले फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जित्न सफल भयो। कराँतेका मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण जितेर नेपालको खाता खोलेका थिए। फुटबलले समापनका दिन भुटानलाई २–१ ले हराएर ५१ औँ स्वर्ण आफ्नो नाममा पार्न सफल भयो।
खेलाडीले आफ्नो लगाव र परिश्रम देखाएको साग नेपालका लागि स्वर्णका हिसावले ऐतिहासिक रह्यो। यसअघि सन् १९९९ मा काठमाडौंमा नै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। २० वर्षपछि फेरि एक पटक घरेलु मैदानमा पुरानो विरासतलाई कायम राख्यो।
कमजोर व्यवस्थापन
साग त सकियो तर समग्रमा व्यवस्थापन भने चुस्त रहन सकेन। विषेशगरी पत्रकारका लागि खेल स्थलमा रिपोर्टिङ असहज भयो।
स्वदेशी पत्रकारका लागि सहज भएपनि विदेशीका लागि भने निकै मुस्किल परेको थियो। बंगलादेश र श्रीलंकाबाट उल्लेख्य संख्यामा आएका खेल पत्रकारहरुले रिपोर्टिङका दौरान असहज भएको पटक–पटक गुनासो गरेपनि सुनुवाइ नभएरै साग सकियो।
त्यस्तै, सुटिङका लागि १३ औँ साग सर्वाधिक नमिठो बन्यो। विदेशी खेलाडीसामू लजित बनेका नेपाली खेलाडी कुनैले पनि फाइनल राउन्ड (टप ८) मा स्थान बनाउन सकेनन्। त्यसो त ४४ करोड बढी लागतमा चीनले बनाइदिएको सुटिङ रेन्ज हतियार नै नभएको नेपालका लागि निराशाजनक रह्यो। खेलाडीहरु हतियार नपड्किएर रुँदै बाहिरिएको क्षण अझ पीडादायक रह्यो। त्यस्तै, पौडी, एथलेटिक्स र बक्सिङमा ऐतिहासिक सफलता हात पारेको छ नेपालले।
अधिकांश मार्सल आर्ट खेलमा पदक ल्याउने नेपालले यो पटक त्यो परम्परा तोड्दै सागलाई ऐतिहासिक बनायो।खेलाडीहरु व्यवस्थापन र खेलाडीहरु समेत भेन्यूमा उभिएरै आफ्नो खेलको प्रतिक्षा गर्नु पर्यो।
यद्यपि भौतिक पूर्वाधार हतारमा निर्माण गरिँदा यसको दीर्घकालीन स्थायित्वका विषयमा प्रश्न उठ्न सुरु भएको छ। साग सकिएपनि यसको व्यवस्थापकीय कमजोरीको उजागर हुँदै जानेछ। आवश्यकता भन्दा बढी स्वयंसेवक नियुक्त भएपनि कुनै पनि खेलस्थलमा व्यवस्थापन राम्रो देखिएन।
अन्तिम दिन थप विवादित
सागको अन्तिम दिन थप विवादित बन्न पुग्यो। बिहानै रिपोर्टिङका लागि रंगशाला पुगेका खेल पत्रकार सुमन चापागाइँ प्रहरीको कुटाइबाट घाइते भएर अस्पताल भर्ना भए।
खेल पत्रकारहरुको विरोध नेपाल र भुटानबीचको खेलका दौरानमा रंगशालामा प्रष्ट देखिँदा आयोजक राष्ट्रिय खेलकुद परिषदलाई इज्जत जोगाउन नै धाैंधाैं भयो। प्रहरीले खेल पत्रकारहरुले प्रदर्शन गरको ब्यानर खोसाखोसको दृश्यले साग समापनको कमजोरीलाई प्रष्ट पारेको थियो।






