शीर्ष नेताको दसैं : प्रधानमन्त्री देउवाले टीका लगाएनन्, ओलीले झापामा बुबाआमासँग लगाए, प्रचण्डले छोरी बुहारीलाई लगाइदिए
नेपालका राजनीतिक दलका शीर्ष नेताले पनि आज आ आफ्नै तरिकाले दसैं मनाएका छन्। सबैले मान्यजनबाट टीका र जमरा थापे अनि आफूभन्दा सानालाई टीका र जमरा लगाइदिए।
काठमाडाैं, असाेज १९ : विजया दशमीको मुख्य दिन अर्थात् टीका लगाउने दिन । आज मान्यजनबाट निधारमा टीका र जमारा लगाएर आशिर्वाद थापेर मनाइँदै छ।
नेपालका राजनीतिक दलका शीर्ष नेताले पनि आज आ आफ्नै तरिकाले दसैं मनाएका छन्। सबैले मान्यजनबाट टीका र जमरा थापे अनि आफूभन्दा सानालाई टीका र जमरा लगाइदिए।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने यो पटक टीका लगाएनन् । भातृशोकका कारण प्रधानमन्त्री देउवाले यो पटक टीका नलगाएका हुन्। प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।
यस्तै, नेकपा एमालेका अध्यक्ष ओलीले गृहनगर झापामा बुबाआमाको हातबाट टीका र जमरा थाप्दै दसैं मनाएका छन्। ओलीले आफ्ना बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट टीका ग्रहण गरे।
दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित झापा पुगेका उनले दमकस्थित आफ्नै निवासमा बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले ११ः५१ बजे नै टीका लगाए।
यता, नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूले टीका नलगाए पनि छोरी, बुहारी र नातिनातिनीहरुलाई टीका लगाइदिएर दसैं मनाएका छन्। प्रचण्ड पुत्री गंगा दाहालले दशैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेका छन्।

-1786106234.jpg)




-1786106234.jpg)




