टीकाको साइत ११ः५१ मा, कुन देशमा कुन समय उत्तम?
नेपालमा भने एउटै शुभ साइत तोकिएको छ। ठुलो भूगोल भएको देशमा भने ठाउँअनुसार फरकफरक साइत निकालिएको छ।
काठमाडौं, असोज १८ : भोलि (बुधबार) बडा दसैंको दसौं दिन अर्थात् विजया दशमी। उक्त दिन टीका लगाउने प्रचलन रहिआएको छ। यो दिनमा राम्रो लगाउने र मीठो खाने अनि आफ्ना मान्यजनका हातबाट टीकाजमरा लाएर आशीर्वाद थाप्ने परम्परा छ ।
टीका थाप्दा शुभ साइत हेर्ने गरिएको छ। शुभ साइत देश र ठाउँअनुसार फरकफरक हुने गर्छ। नेपालमा भने एउटै शुभ साइत तोकिएको छ। ठुलो भूगोल भएको देशमा भने ठाउँअनुसार फरकफरक साइत निकालिएको छ।
यो वर्ष नेपालमा दसैंको टीकाको शुभ साइत असोज १९ गते ११ बजेर ५१ मिनेट जाँदा जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले उक्त साइत जुराएको हो। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले भने विदेशमा बस्ने नेपालीहरूका लागि टीकाको साइत जुराइदिएको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठकले नेपालमा टीका लाउने शुभसाइत र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको असोज ६ गते बसेको बैठकले टीकाको साइत जुराएका हुन्।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति बजे टीका लगाउने भन्ने समय निकालेको छ। नेपालमा भने असोज १९ गते ११ बजेर ५१ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, क्यानडा, स्विट्जरल्यान्ड, इजरायललगायत देशमा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।
त्यसैगरी भारत, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, कतार, मलेसिया, युएई, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यनमारमा अक्टोबर ५ तारिखमा टीकाको शुभसाइत जुरेको छ।
अमेरिकाको न्युयोर्कमा ११ः११ बजे, केन्टुकीमा ११ः५५ बजे, टेक्सासमा ११ः३५ बजे र क्यालिफोर्नियामा ११ः४५ बजे, वासिङ्टन डिसीमा ११ बजेर २५ मिनेटमा टीकाको शुभसाइत जुरेको समितिले जनाएको छ।
सोही दिन क्यानडाको टोरेन्टोमा बस्नेले ११ः३९ बजे र भ्यान्कुभरमा बस्नेले ११ बजेर ४५ मिनेट जाँदा दसैंको टीका लगाउन उत्तम हुने बताइएको छ। फ्रान्सको पेरिसमा ११ बजेर ५५ मिनेट जाँदा र ओस्लोको नर्वेमा ११ बजेर २५ मिनेट जाँदा टीका ग्रहण गर्न सक्ने जनाइएको छ।
अस्ट्रेलियाका सिड्नी, मेलबर्न र ब्रिसबेनमा क्रमशः १० बजेर ४१ मिनेट जाँदा, १० बजेर ५५ मिनेट जाँदा र ११ बजेर ४ मिनेट जाँदा टीका ग्रहण गर्न सक्ने समितिले जनाएको छ।
भारतको दिल्लीमा १० बजेर ४५ मिनेट जाँदा, युएईको अबसधाबीमा ९ बजेर १ मिनेट जाँदा, कतारको दोहामा ८ बजेर १५ मिनेट जाँदा, मलेसियाको क्वालालाम्पुरमा १० बजेर २५ मिनेट जाँदा टीकाको उत्तम साइत रहेको समितिको भनाइ छ।
साउदी अरेबियामा ९ बजेर ५५ मिनेट, दक्षिण कोरियाको सोलमा १० बजेर ५१ मिनेट जाँदा, म्यानकारको यांगुनमा ९ बजेर ५५ मिनेट जाँदा टीकाको उत्तम साइत रहेको समितिको भनाइ छ।
हङकङ र सिंगापुरमा क्रमशः १० बजेर ५५ मिनेट र ११ बजेर २७ मिनेट जाँदा टिकटको शुभसाइत रहेको छ।

-1786106234.jpg)




-1786106234.jpg)




