Kathmandu Press

हनुमानढोका दरबारको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा

हनुमानढोका दरबारको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा

काठमाडाैं : हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ। यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ। मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

तलेजु भवानीको मूर्तिलाई मूलचोकमा राखिए पनि मन्दिरमा भने अहिले पनि भक्तजनले दर्शन गरिरहेका छन्। यो मन्दिर प्रत्येक वर्ष बडादसैँको महानवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ। यहाँ भक्तजनले कलशको दर्शन गरेर फर्कने पनि उनले बताए।

मन्दिर भक्तजनका लागि आज बिहान ४ः३० बजे खुला गरिएको थियो। भक्तजन भने त्यसअघिदेखि नै लाममा बसेको कार्यालयले जनाएको छ। आज भारी वर्षा भए पनि भक्तजन भने अझै लाममा बसेका छन्। मूर्तिलाई भने बुधबार विजयादशमीका दिनमात्र मन्दिरमा फर्काइने भएको छ।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्