Kathmandu Press

जनप्रतिनिधि महिला भन्छन्, ‘परिवारसँग बसेर रमाइलोसँग दसैं मनाउनै भ्याइँदैन’

जनप्रतिनिधि महिलाहरुले आफू पनि केही समय भए पनि परिवारसँग बसेर दसैं मान्ने र चाडसम्बद्ध विभिन्न कार्यक्रममा पनि उपस्थिति जनाउनेदेखि नगरवासीलाई सुरक्षित राख्नेसम्मका योजना बनाएको बताएका छन् ।
जनप्रतिनिधि महिला भन्छन्, ‘परिवारसँग बसेर रमाइलोसँग दसैं मनाउनै भ्याइँदैन’

काठमाडौं असोज १० : नेपालीहरूको प्रमुख चाड दसैं सुरु भइसकेको छ। नवरात्रको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाको स्थापना गरिएको छ। धार्मिक विधानअनुसार हरेक दिन देवीको पूजा हुँदै आएको छ। विजया दशमीको टीकाको पर्खाइमा अधिकतर नेपाली रहेका छन्। त्यसकारण गाउँघरमा मानिसको चहलपहल बढ्न थालेको छ । गाउँका सडकदेखि घरहरु सफा र रंगीचंगी देखिन थालेका छन्।

कोरोना संक्रमणका कारण केही वर्षयता आक्रान्त जनता अहिले देशभरि फैलिएको डेंगु महामारीका कारण आतंकित छन्। कतिपय जनप्रतिनिधि डेंगु संक्रमणबाट ग्रसित छन्। डेंगुले जनजीवन प्रभावित गराइरहेको सन्दर्भमा दसैंलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहका महिला जनप्रतिनिधिसँग काठमाडौं प्रेसले कुराकानी गरेको छ।

जनप्रतिनिधि महिलाहरुले आफू पनि केही समय भए पनि परिवारसँग बसेर दसैं मान्ने र चाडसम्बद्ध विभिन्न कार्यक्रममा पनि उपस्थिति जनाउनेदेखि नगरवासीलाई सुरक्षित राख्नेसम्मका योजना बनाएको बताएका छन् । जनप्रतिनिधि भएपछि परिवारसँग बसेर चाडबाड मनाउने र रमाइलो गर्ने भन्दा पनि जनसरोकारका विषयमै लागिपर्ने गरेको बताएका छन्।

आम महिला हुँदा र जिम्मेवार पदमा बसेर काम गर्दा फरक अनुभव हुने गरेको जनप्रतिनिधि महिलाहरू बताउँछन्। दसैं मनाउने सम्दर्भमा पनि परिवारलाई केही समय दिए पनि जनताकै काममा लाग्नुपर्ने अवस्था रहेको उनीहरूको साझा परिस्थिति छ।

‘परिवारसँग घुलमिल भएर बस्न भ्याइँदैन’
उपप्रमुख, सुशीला अधिकारी, नागार्जुन नगरपालिका, काठमाडौं

दसैं सुरु भइसकेको अवस्थामा या अन्य बेला पनि जनप्रतिनिधि महिलाको अवस्था वा भूमिका आम महिलाको भन्दा भिन्न हुने नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी बताउँछिन्। ‘दसैं, तिहारलगायत चाडपर्वमा घरपरिवारभन्दा पनि नगरवासीको सुरक्षामा बढी ध्यान दिनुपर्ने बाध्यता जनप्रतिनिधिको हुने रहेछ।’

Sushila adhikari_nagarjun1664845003.jpg

उनका अनुसार विगतका वर्षहरुमा कोरोना महामारीका कारण जनप्रतिनिधिको दसैं परिवारजनमा मात्र सीमित भएको थियो। ‘यस वर्ष पनि डेंगु संक्रमण बढिरहेका कारण जोखिम उच्च छ,’ उनले भनिन्, ‘चाडपर्व सुरु भइसकेको अवस्थामा नगरवासीलाई डेंगुबाट कसरी सुरक्षित राख्ने भन्नेबारे काम भइरहेको छ।’

चाडपर्वमा भिडभाड हुने हुँदा विभिन्न रोगबाट संक्रमण हुनबाट रोक्न, डेंगु सार्ने लामखुट्टेबाट नगरवासीलाई बचाउन विभिन्न सचेतना कार्यक्रममा गर्नमै व्यस्त भएको उनको भनाइ छ । ‘अहिले डेंगु तत्काल कम नहुने देखिएकाले नियन्त्रणतर्फ लागिपरेका छौं,’ उनले भनिन्, ‘त्यसकारण दसैंले छोपिसक्दा पनि दौडधुप जारी छ। परिवारलाई समय दिन पाएकी छैन।’

उनी गत वर्षको दसैंमा पनि आम नागरिकजस्तो घरपरिवारसँग घुलमिल भएर बस्न नपाएको भन्दै गुनासो पोख्छिन् । २०७४ सालमा नगरपालिका उपप्रमुख बनेकी उनी यसपटक पनि त्यसैमा दोहोरिन सफल भएकी छन् ।

जनप्रतिनिधि भइसकेपछि दसैंका अवसरमा विभिन्न स्थानमा राखिएका कार्यक्रममा सहभागी हुनुपर्ने उनले बताइन्। ‘कार्यक्रममा बोलाएपछि पुग्नैपर्ने जिम्मेवारी हुन्छ । त्यसैले चाडबाडमा पनि आम महिलाको तुलनामा जनप्रतिनिधि महिलाको अवस्था फरक हुन्छ।’

चाडपर्वमा महिला हिंसा हुने डर हुने उनी बताउँछिन्। त्यसैले सचेतनाका कार्यक्रममा हिँड्नैपर्छ,’ उनी भन्छिन्, ‘दसैंमा टीका लगाउन कतै हिँडिरहँदा कुनै काम आइप¥यो भने आफ्नो काम छाडेर त्यता दौडिनैपर्छ ।’

गत वर्ष पनि कोरोना महामारी नियन्त्रण र घरायसी महिलाको पीडा न्यूनीकरणमा सक्रिय भएरै उनको दसैं अवधि बितेको थियो । बिदा भनेपछि सरकारी कर्मचारीले जस्तो ढुक्क घरपरिवारमा बस्न नपाइने कुरा सम्झिँदा दुःख लाग्ने गरेको तर त्यसलाई स्विकार्नुको विकल्प नरहेको उनी बताउँछिन् ।

बिदाका दिनमा जनप्रतिनिधिले अझै सक्रिय भूमिका निभाउनु कर्तव्य भएको पनि भुल्न नहुने उनी बताउँछिन्। ‘चाडपर्व भनेर ढुक्क परिवारसँग बस्न पाइँदैन,’ उनले भनिन् ।

दसैंमा पनि जनताकै लागि काम गरिरहँदा गर्व लाग्छ
मञ्जली शाक्य बज्राचार्य
उपप्रमुख, ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य २२ वर्षदेखि राजनीतिमा सक्रिय छिन्। उनी गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी भएकी हुन् ।

राजनीतिमा सक्रिय भइरहँदा धेरै चाडपर्वमा परिवारलाई छाडेर कार्यक्रममा हिँड्ने गरिएको उनी बताउँछिन् । ‘पहिलेदेखि विभिन्न कार्यक्रममा हिँडिरहन्थें,’ उनले भनिन्, ‘पहिलेदेखि आफ्नो काममा हिँडिरहेका कारण चाडपर्वमा परिवारसँग नहुँदा पनि नराम्रो लाग्दैन ।’

manjali kumari bajaracharya_lalitpur1664845032.jpg

पहिला काम गर्दा कलम थिएन, अहिले साथमा कमल छ भन्ने मात्र रहेको, अरू केही फरक नभएको उनको भनाइ छ । ‘पहिले पनि जनताका लागि काम गरिरहेकै थिएँ, अहिले पनि त्यस्तै काम गरिरहेको छु,’ उपप्रमुख शाक्यले भनिन्, ‘जनताको सेवाका लागि जनप्रतिनिधि बनेकी हुँ, त्यसैले परिवार र चाडपर्व मनाउनुभन्दा पनि आफ्नो जिम्मेवारी निभाउन पाउँदा खुसी मिल्छ  ।’

उनी दसैं हिन्दु धर्मालम्बीलम्बीको महान् चाड भए पनि आम नागरिकका समस्यामा कुनै भेदभाव नराखी खटिने गरेको बताइन् । ‘जनताको सुखदुःखमा साथ दिने प्रतिबद्धता राखेर अनुमोदित भइसकेपछि त्यसलाई निभाउन आहोरात्र जुट्नु जनप्रतिनिधिको मुख्य दायित्व हो भन्ने मलाई लाग्छ,’ उनले भनिन्।

‘परिवारमा उपस्थित भए बसिरहन पाइँदैन’
उपप्रमुख, शान्ता थापा, कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं

आम महिला हुँदा र जिम्मेवार पदमा बसेर काम गरिरहँदा फरक अनुभव रहेको बताउँछिन्, कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापा । राजनीतिमा सक्रिय भइरहँदा सामाजिक कार्यलाई पहिलो प्राथमिकतामा राखे पनि परिवारले चाहेको बेला र चाडबाडको उपस्थित हुन सकिने तर जनताको कामले गर्दा लामो समय दिन नसकिने उनी बताउँछिन्।

जिम्मेवारी लिएपछि पहिला सामाजिक काम र दोस्रोमा परिवार हुने उनको धारणा छ । ‘सामाजिक काममा उपस्थित हुनु र नगरवासीको अवस्थाबारे अनुगमन गर्नु पहिलो जिम्मेवारी हो,’ उनले भनिन्, ‘चाडपर्वमा महिलालाई कसरी हिंसा हुनबाट बचाउने भन्ने अभियानमा हामी जुटिरहेका छौं ।’

Shanta thapa1664845059.jpg

चाडपर्वको समयमा नगरवासीले सांस्कृतिक तथा शुभकामना आदानप्रदानका कार्यक्रम राखेका हुन्छन् । प्रायः सबै कार्यक्रममा जनप्रतिनिधि सहभागी भइदिए हुन्थ्यो भन्ने अपेक्षा आयोजकले राख्छन् । जनताका खुसीका लागि त्यहाँ पुग्नुपर्छ, त्यसैले चाडपर्वमा जनप्रतिनिधिहरुसँग परिवारसँग रमाइलो गर्न, चाडपर्व मनाउन समय नहुने उपप्रमुख थापा बताउँछिन् ।

‘मिठो–मिठो परिकार बनाउँछु, परिवारजनसँग बसेर खान्छु भनेर चाहिँ पुग्दैन,’ उनले भनिन्, ‘परिवारमा उपस्थित भए पनि निश्चिन्त भएर बसिरहन नपाइने रहेछ।’ उनी परिवारलाई भन्दा पहिले सामाजिक कामलाई प्राथमिकता दिनुपर्ने धारणा राख्छिन्। पारिवारिक माहोलमा सीमित भएर जनप्रतिनिधिले दसैंलगायत चाडपर्व मनाउन नपाउनु सामान्य कुरा भएको उनको भनाइ छ।

नागरिकको सुरक्षा हाम्रो पहिलो जिम्मेवारी

वसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिका, काठमाडौं

अहिले नेपालीको महान् चाड दसैंका लागि जताततै भिडभाड भए पनि, नगरवासीमा खुसी छाएको पनि डेंगु संक्रमणले भने अलिकति जोखिम बढाएको चन्द्रागिरी नगरपालिकाको उप–प्रमुख वसन्ती श्रेष्ठ बताउँछिन् । ‘चाडबाड नभनी नगरवासीलाई डेंगु संक्रमणबाट कसरी बचाउने भन्नेतर्फ लागिपरेका छौं,’ उप–प्रमुख श्रेष्ठले भनिन्, ‘नागरिकको सुरक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो ।’

basanti-shrestha, chandragiri1664845084.jpg

चाडपर्वको समयमा नगरवासीले विभिन्न कार्यक्रम राखेका हुन्छन् । त्यहाँ जानुपर्ने हुनाले चाडपर्वमा परिवार र आफूले चाहेको जसरी मनाउन नपाउने उनको भनाइ छ । ‘परिवारको खुसीभन्दा नगरवासीको सेवामा खटिनुपर्ने हुन्छ, त्यसैले चाडपर्व आउँदा आम महिलाले जस्तो परिवारमा रमाइलो गरेर, पारिवारिक जिम्मेवारीमा निर्वाह गरेर बस्ने सुविधा हामी जनप्रतिनिधिले नपाउने रहेछौं,’ उनी भन्छिन्, ‘जिम्मेवारी पदमा बसेपछि त्यसलाई निभाउनुपर्छ भनेर समाजसेवामै लागिपरेकी छु ।’

घरपरिवारमा टीकाको दिन एकछिन उपस्थित हुने योजना बनाएको उनी बताउँछिन् । ‘विभिन्न ठाउँबाट कार्यक्रमका लागि निमन्त्रण आएका छन्,’ उनले भनिन्, ‘नगरपालिकाको बैंठक र विभिन्न अधुरा कामको योजनाका बारेमा काम गर्नुपर्ने छ।’ त्यसैले चाडपर्वमा रमाइलो गर्नेभन्दा पनि आफ्नो कर्तव्य पूरा गर्न लागिपरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, असोज १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्