दसैंमा उपत्यका छाड्ने दोब्बर बढे, दुई दिन अघि नै १७ लाख बाहिरिए
विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो ।
काठमाडौं, असोज १७ : काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन् ।
विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वांरले बताउए।
अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । उनले भने, “विभिन्न कारणले जान नपाएकाहरु पनि भोलि र पर्सिसम्म जान्छन् ।”
विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् ।
कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वांरले बताउनुभयो । सवारी साधनहरुले सामान्य अवस्थामा प्रतिस्पर्धा हुंदा तोकिएको भन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ ।
काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरुबाट र जिल्ला सदरमुकामहरुबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउंदा खालीजस्तै हुने उनले बताए।
सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो ।
शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
दसैं, तिहार, छठसंगै निर्वाचनमा जाने यात्रुहरु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । यो वर्ष दसैं चांडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । दसैंलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरु गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ ।

-1786106234.jpg)




-1786106234.jpg)




