Kathmandu Press

पूर्वप्रधानन्यायाधीश कार्कीले ल्याइन् ‘कारा’

काठमाडौं, मंसिर २४ : नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अर्को परिचय पनि छ, साहित्यकारको। उनले लेखेको पहिलो उपन्यास ‘कारा’....

पूर्वप्रधानन्यायाधीश कार्कीले ल्याइन् ‘कारा’

काठमाडौं, मंसिर २४ : नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अर्को परिचय पनि छ, साहित्यकारको। उनले लेखेको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ।

कारा भनेको के हो? उपन्यासकार कार्कीका शब्दमा, ‘कारा एउटा बन्धनको कथा हो। महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ।’

Hardik ivf

निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि हो। बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाले भोगेको लामो ताडना र यातनाको गाथा हो– कारा। ‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनेँ। देखेँ। त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीले भनिन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे–भोगेका महिलाका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएका छन्।

गत वर्ष प्रकाशित कार्कीको आत्मकता ‘न्याय’ धेरै पढिएका कृतिहरुमध्येमा पर्छ।

‘कारा’ किताब पब्लिसर्सले प्रकाशन गरेको नयाँ पुस्तक हो। ‘हामीले यो उपन्यासमार्फत् सुशीला कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौं। यसले पाठकहरुलाई फरक स्वाद दिने हाम्रो अपेक्षा छ,’ किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले भनिन्।

 

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, मंसिर २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्