राउटेलाई लाग्यो दसैं
राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्छन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् ।
दैलेख, असाेज १६ : कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई दसैं लागेको छ । राउटेका मुखियाले केही दिनअघि प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग भेट गरी आफूलाई दसैं मासुको व्यवस्था गर्न माग गरेका थिए ।
राउटेका लागि भगवतीमाई गाउँपालिकाले शुक्रबार दुईवटा खसी दिएको छ । जाजरकोट जिल्लाबाट दैलेखको भगवतीमाई गाउँपालिका–१, पगनाथमा बस्ती सरेका राउटे समुदायमा दैंको रौनकले छोइसकेको छ ।
अहिले राउटे समुदायका अगुवा गाउँगाउँ र बजारकेन्द्रित भएर आफ्ना ‘जनता’का लागि खाद्यान्न तथा अन्य सहयोग माग्दै गरेका छन् ।
राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्छन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले पहिल्यै खसीबोका जम्मा गरी राख्छन् । खसी नपाए बूढो बाख्री भए पनि खोजेर ल्याउँछन् । दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् ।
दसैंको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् ।
पुरुष मात्र नाच्छन्, महिला कहिल्यै नाच्दैनन् । मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै सृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताउनुभयो ।
साबिक मध्यपश्चिम तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा बसोबास गर्ने राउटे समुदाय गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् । उनीहरूलाई गुराँस गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्रसमेत दिएको छ ।
फिरन्ते जीवन बिताउने यो समुदायका ४३ घरधुरीमा गरी १४४ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै पुगेर राउटे समुदायलाई अघिल्लो वर्षको सामाजिक सुरक्षा भत्ता गत साउन ८ गते वितरण गरेको थियो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक चार हजार रुपियाँ प्रदान गर्दै आएको छ ।

-1786106234.jpg)




-1786106234.jpg)




