खसीबोकाको माग घट्दै
धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको अवस्थामा भेटिएका मानबहादुरले भने, 'पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बलि दिन छाड्दा यसको माग पनि घट्न थाल्यो।'
सुदूरपश्चिम, असाेज १५ : कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ।
धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको अवस्थामा भेटिएका मानबहादुरले भने, 'पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बलि दिन छाड्दा यसको माग पनि घट्न थाल्यो।' पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापानलन रहेको छ। यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रुपमा रहेको छ। यसबाहेक चुरेका किसानको अर्को आयस्रोतको रुपमा फलफूल, अदुवा र बेसारको खेती पनि छ।
उनले भने, 'पहिलेको भन्दा महँगी बढेको भएर पनि अपेक्षा गरेअनुसारको बिक्री हुन नसक्ने समस्या देखिएको हुन सक्छ।' उनीसहितको समूहले तीन दिनदेखि धनगढीका चोक र गल्लीमा पुगेर खसी बोकाको घुम्ती व्यापार गरिरहेको छ।
अर्का किसान दानबहादुर बुढा दसैँको समयमा चुरे गाउँपालिकामा पालिएका खसी बोका बिक्रीका लागि काठमाडौं र पोखरासम्म पुर्याउने गरिएको बताउछन्। उनले भने, 'यहाँका खसी बोकाको बिक्रीबाट मुनाफा बढी लिने सोचले जिल्ला बाहिर लग्ने गरिए पनि सोचे अनुसारको फाइदा लिन सकिएको छैन।' चुरे गाउँपालिकाका कतिपय किसान परिवारले एउटै खोरबाट कम्तीमा पनि ३५/४० वटा बाख्रा पाल्ने गरेका छन्।
व्यापारी लोकबहादुर बोहराले पनि बलि दिने परम्परामा कमी आउँदा खसीबोकाको स्थानीय क्षेत्रमा माग पहिलेको जस्तो नभएको अनुभव सुनाए। 'स्थानीय क्षेत्रमा जीउँदो खसी मुस्किलले प्रति किलो रु पााच सय ५० मा खरिद बिक्री भइरहेको छ', बोहराले भने, 'पहिलेको भन्दा माग निकै घट्दा समस्या भइरहेको छ।'
यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु सात सय देखि आठसयसम्ममा बिक्री हुने गरेको व्यापारीले बताएका छन्। बाख्रापालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ। उहाँहरुले भन्नुभयो, 'सरकारले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन।'
घरघरमा खसी बोकाको मार हान्ने र देवीदेवताको नाममा बली दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा यसको कारोबार पनि घट्दै गएको व्यापारीको बुझाइ छ। दसैँमा देवीदेवताको नाममा घरघरमा खसी बोका, कुखुरा, हाँस परेवा जस्ता पशुपक्षीको बलीदिने चलन पहिलेको तुलनामा कमी आएको उनीहरु बताउँछन्।
पछिल्ला वर्षमा कतिपय परिवारले राँगा र बोकाको विकल्पमा नरीवल, कुभिण्डो, फर्सी काँक्राको बली दिन थालिएको पाइन्छ। सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाका बडा दसैँको समयमा कतिपय शक्तिपीठमा राँगा, बोकाको बलि दिने चलन भने कायम नै छ।












