Kathmandu Press

दसैंमा थारु सुमदायमा देवता अर्थात् घोर्वा फेर्ने प्रचलन

माटाका भाडा बनाउने पेशाकर्मीले अहिले सबै खाले देवताको मुखाकृति बनाएर घोर्वाको बिक्री थालेका थारु समुदायका अगुवा बताउँछन्।
दसैंमा थारु सुमदायमा देवता अर्थात् घोर्वा फेर्ने प्रचलन

टीकापुर, असोज १५ : थारु समुदायमा दसैंमा आफ्नो देवता अर्थात् घोर्वा फेर्ने चलन छ। अन्य समयमा नभई दसैंमा देवता फेर्ने भएकाले अहिले घोर्वा (माटाको घोडा) बनाउनेको व्यवसाय राम्रो चलेको छ।

अन्य समयमा खोजेर विरलै खरिद गर्न पाइने घोर्वाको दसैं लागेपछि सहज रुपमा खरिद गर्न पाइन्छ। माटाका भाडा बनाउने पेशाकर्मीले अहिले सबै खाले देवताको मुखाकृति बनाएर घोर्वाको बिक्री थालेका थारु समुदायका अगुवा बताउँछन्।

Hardik ivf

जानकी गाउँपालिका–१ तोरैयापुरकी आममती चौधरीले विशेषतः दसैं पर्व नजिकिएसँगै थारु सुमदायका देवता अङ्कित घोर्वाको बिक्री सुरु भएको बताए। ‘अन्य समयमा न्यून रुपमा माटाका देवता घोर्वाको बिक्री भए पनि दसैंमा यसको राम्रो बिक्री हुने गर्छ’, उनले भने, ‘दसैँ सुरु भएसँगै दैनिकरुपमा घोवा बिक्री भइरहेका छन्। यसबेला घर लिपपोत गरेर हरेक घरमा घोर्वा फेर्ने गरिन्छ।’

माटाको काम गर्ने जातिले घोर्वा बनाउने गर्दछन्। प्रायः दसैंमा थारु समुदायमा घोर्वा फेर्ने प्रचलन रहेकाले अन्य समयभन्दा घोर्वाको बिक्री राम्रो हुने गरेको टीकापुरका सुन्दर चौधरीले बताए। ‘माटाका भाडा घोडा आकारमा विभिन्न देवताका चित्र अङ्कित घोर्वा लिइ देउता कोठामा सजाउने गरिन्छ’, सुन्दरले भन्नुभयो, ‘घोर्वा माटाका बनाइने भएकाले वर्ष दिनभरिमा केही टुटफुट भएको वा कुनै खोट देखिएमा दसँैमा मात्र फेर्ने चलन छ। नयाँ देवता बनाउने बेला मात्र फेर्ने गरिन्छ। यो पटकपटक वा बीच बीचमा फेर्ने चलन छैन।’

मौसमी रुपमा मात्र बिक्री हुने भएकाले प्रति घोर्वा रु पाँच सय देखि रु एक हजारसम्ममा बिक्री हुन्छ। तोरैयापुरकी व्यवसायी सुमिता थारु भन्नुहुन्छ, ‘थरिथरिका देउताका चित्र बनाएका छौँ, यतिखेर राम्रो बिक्री भइरहेका छन्’, उनले भने, ‘थारु सुमदायका जातअनुसार घोर्वा देवता फरकफरक रुप वा स्वरुपबाट निर्मित गरिने गरिएका छन्। सोहीअनुसार मेल खाने घोर्वा मात्र फेर्ने गरिन्छ।’

थारु समुदायका मुल पदवीअनुसार घोर्वालाई कुल पुरोहित देवताका रुपमा चिनिन्छ। पाँच इन्द्रिय भएको देवताकारुपमा रहेकाले घरका सदस्यको संरक्षण तथा दुःख बिरामीबाट छुटकारा दिलाउने देवताका रुपमा घोर्वालाई मान्ने र पुज्ने गरिन्छ। नयाँ देवता किन्न आउने ग्राहकको पुरानो देवताको स्वरुपसँग मेल खाने गरी मात्र बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। घोर्वा पनि जात विशेष आधारमा विभिन्न थरिका रहेका हुन्छन्।

दसैंमा विशेषरुपमा मैया देउताको पुजासँगै सौरा, खेखरी र जात विशेषका आधारमा विभिन्न देवताको पूजा गर्ने चलन छ। थारु समुदायका अगुवा समिर चौधरी पर्व मनाउने, पूजाआजा गर्ने आआफ्नै तरिका रहेकाले थारु समुदायमा दसैँमा घोर्वा फेर्ने, खानपान र रमाइलो गर्ने चलन रहेको बताउनुहुन्छ। ‘दसैँमा थारु समुदायमा देउताका भाडा फेर्न, गाउँगाउँमा नाचगान गर्ने, समुदायमा रहेका नाचगान र पहिरन संरक्षण गर्ने गरिन्छ’, उहाँ भन्नुहुन्छ, ‘सपरिवार, छिमेकी तथा आफन्त जम्मा भएर रमाइलो गरी नाचगान गर्दै दसैँ मनाउने तरिकाले थारु समुदायको पहचिान जोगाएको छ।’

दसैँ सुरु भएपछि थारु गाउँमा सखिया, मुग्रौहा, झुम्रालगायत नाचगान गर्ने गरिन्छ। ‘आफैँले मादल बजाएर, पुरुषले धोती तथा भेगुवा लगाउने, महिला एउटै खालको लेहँगा र चोलीमा सजिएर नाचगान गर्ने चलनले रमाइलो हुन्छ’, उनी थप्छन्, ‘थारु समुदायमा चाडपर्व मनाउँदा विशेष तवरले मनाइन्छ। दसैँको समयमा थारु समुदायका गाउँगाउँमा रात्रिकालीन नाटक प्रदर्शन, नाचगान जस्ता कार्य हुन्छन्। यसले संस्कृति संरक्षण र कला र संस्कृति युवा पुस्तालाई हस्तान्तरणमा सघाउँछ।’ 

प्रकाशित मिति: ०९:४० बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्