Kathmandu Press

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न सामूहिक प्रयास आवश्यक : राष्ट्रपति

उनले ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिएकी छन्। ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू थप विस्तार गर्दै लैजान अनुरोध पनि गरिएके छ।
ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न सामूहिक प्रयास आवश्यक : राष्ट्रपति

काठमाडौं, असोज १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरू जीवनभरको संघर्ष र भोगाइहरूबाट आर्जित ज्ञान, सिप र अनुभवका खानी भएको बताएकी छन्।

३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा उनले आज (शनिबार) एक शुभकामना सन्देश जारी गरेर आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्ने बताएकी छन्।

‘ज्येष्ठ नागरिकहरू आफ्नो जीवनभरको संघर्ष र भोगाइहरूबाट आर्जित ज्ञान, सिप र अनुभवका खानी हुनुहुन्छ। उहाँहरूको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ,’ सन्देशमा भनिएके छ, ‘तसर्थ ज्येष्ठ नागरिकहरूमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ।’

ज्येष्ठ नागरिकहरूबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको लागि शुभकामना व्यक्त गरेकी छन्।

उनले ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिएकी छन्। ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू थप विस्तार गर्दै लैजान अनुरोध पनि गरिएके छ।

‘आफ्नो जीवनको उर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य विमा‚ सामाजिक सुरक्षा भत्ता लगायतका सेवा र सुविधाहरूको व्यवस्था गरेको छ,’ सन्देशमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नुका साथै ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजान म सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।

हाम्रो सांस्कृतिक मूल्य, मान्यता र परम्परा ‘मातृदेवो भवः, पितृ देवो भवः’ बाट निर्देशित रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकप्रति संवेदनशील यस प्रकारका मूल्य र मान्यतालाई आत्मसात गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य भएको बताएकी छन्।

‘बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने ‘मातृदेवो भवः, पितृदेवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु,’ सन्द्शमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्‍वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ।

संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलतास् बदलिँदो विश्‍वको लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ। यही मूल विषयलाई केन्द्रविन्दुमा राखेर आज नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।

प्रकाशित मिति: ०८:२६ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्