संघीय संसद भवन निर्माणको गति बढाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं, असोज १४ : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको निर्माणाधीन भवनको कामको गति बढाउन निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबार परिसर भित्र संघीय संसदका दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गर्दै कामको गति बढाउन निर्देशन दिएका हुन्।
अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताए। उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न तीन सिफ्टमा काम गराउन निर्देशन दिए । उनले अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने नदेखिने भन्दै २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्ने धारणा राखे।
२०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो। हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ।
आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम ५ अर्ब २ करोड रहेको छ। कुल १५१ रोपनी क्षेत्रफलमा फैलिएको संघीय संसद प्राचिन स्वरुपमा निर्माण भइरहेको हो।

-1786106234.jpg)




-1786106234.jpg)




