Kathmandu Press

स्वास्थ्य मन्त्रालयले दियाे १४ स्थानीय तहका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल

स्वास्थ्य मन्त्रालयले दियाे १४ स्थानीय तहका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल

काठमाडाैं : डेंगीको संक्रमण बढेपछि सरकारले पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।

काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको हाे।

डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताललाई निःशुल्क वितरणका लागि सिटामोल उपलब्ध गराइएको छ।

डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै विभिन्न औषधि तथा भण्डारण केन्द्रमा औषधि भण्डारण गरी राखिएको र आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

काठमाडौं उपत्यकामा डेंगीको संक्रमण अन्य स्थानको तुलनामा बढी रहेको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्