धादिङ जान लागेका यात्रु पाँच घन्टादेखि माछापोखरीमा अलपत्र, यातायात खुलाउने तयारी
यात्रुसँग बढी भाडा लिएको भन्दै प्रहरीले चालकहरुलाई धमाधम पक्राउ गरेपछि काठमाडौं–धादिङ चल्ने सवारी साधन बिहीबार बिहानदेखि ठप्प भएका छन् ।
काठमाडौं, असोज १४ : यात्रुसँग बढी भाडा लिएको भन्दै प्रहरीले एक चालकलाई धमाधम पक्राउ गरेपछि काठमाडौं–धादिङ चल्ने सवारी साधन बिहीबार बिहानदेखि ठप्प भएका छन् ।
बुुधबार साँझ माछापोखरीस्थित धादिङ बसपार्क क्षेत्रबाट सादा पोसाकका प्रहरीले चालकलाई पक्राउ गरेको विरोधमा धादिङ चल्ने विभिन्न यातायातका सवारी चालकहरुले बिहीबार यायातात ठप्प पारेका हुन् । बस नचलेपछि काठमाडौंबाट धादिङ हिँडेका यात्रुहरु माछापोखरी बसपार्कमै अलपत्र परेका छन् ।
धादिङ मण्डली यातायातका अध्यक्ष शरद अधिकारीका अनुसार, बुधबार साँझ सादा पोशाकमा आएका प्रहरीले धादिङ हिँड्न लागेको बसको सहचालकसँग लगेजको भाडा सोधेका थिए । सहचालकले यात्रुको भाडा सरकारले तोकेअनुसारकै हुने तर लगेज आफ्नो जिम्मामा लैजानुपर्ने भएका कारण मिलाएर दिनुपर्ने बताएका थिए ।
सोही विषयलाई लिएर बसका चालक र सहचालकले यात्रुलाई ठगेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको अध्यक्ष अधिकारीले बताए । ‘भाडा सरकारले तोकेको हुन्छ, यात्रुसँग पनि त्यहीअनुसार लिइँदै आएको हो,’ अधिकारीले भने, ‘लगेजका सम्बन्धमा सरकारले कुनै मापदण्ड नबनाएका कारण उत्पन्न भएको सामान्य विषयलाई लिएर प्रहरीले ज्यादती गर्न खोजेको देखियो । त्यसकै विरोधमा चालकहरुले गाडी नचलाएका हुन् ।’
माछापोखरी क्षेत्रमा बिहानैदेखि यात्रुहरु अलपत्र परेपछि सरोकारवालाहरु वार्तामा बसेका थिए । उनीहरुबीच सहमति भएपछि चालकहरु पनि यातायात खुलाउन सहमति भएको अध्यक्ष अधिकारीले बताए । ‘कस्ता गल्ती गर्नेलाई कस्तो कारवाही गर्ने भन्ने विषयमा प्रहरी र सरोकारवाला पक्षबीच एक किसिमको सहमति भएको छ, लगत्तै यातायात पनि खुलिसकेको छ‚’ अधिकारीले भने ।
बसपार्क क्षेत्रमा खटिएका ट्राफिक प्रहरीले सवारी चालकहरुलाई अनाहकमा दुख दिने गरेको गुनासो पनि आइरहेको र यस सम्बन्धमा पनि छलफल भएको अध्यक्ष अधिकारीले बताए ।

-1786106234.jpg)




-1786106234.jpg)




