ए डिभिजन लिग पुस ८ बाट
एन्फा ए डिभिजन लिगका लागि पुस ८ देखि चेत ४ सम्मको समय तोकेको छ । तर, क्लबहरुसँग छलफलपछि मिति परिमार्जन पनि हुन सक्ने छ।
काठमाडाैं, असाेज १३ : सहिद स्मारक ए डिभिजन लिग पुस ८ बाट गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ । बुधबार बसेको एन्फाको विशेष साधारणले ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्ण अनुमोदन गरेको छ।
एन्फा ए डिभिजन लिगका लागि पुस ८ देखि चेत ४ सम्मको समय तोकेको छ । तर, क्लबहरुसँग छलफलपछि मिति परिमार्जन पनि हुन सक्ने छ।
१४ क्लबको सहभागीता रहने लिग यो पटक पनि सिंगल राउण्ड रोविन र विकेन्डमा खेल खेलाइने तयारी एन्फाको छ। क्लबहरुसँग छलफल गरेर डबल लिग समेत गर्न सकिने समेत एन्फाले जनाएको छ। डबल राउन्ड रोबिन भयो भने लिग असारसम्म चल्ने छ।
एन्फाले यस पटक सुपर लिग र रेलिगेसन लिगको नयाँ प्रस्ताव क्लबमाझ ल्याएको छ। तर, त्यो संरचना बनाउन पनि एन्फाका लागि त्यति सहज भने छैन । यसअघि विभिन्न समयमा सिंगल लिग, डबल लिग लगायत विभिन्न प्रयोग भइसकेको छ ।
‘क्लबहरुसँग छलफल गरेर क्लब तयार भए सिंगल र डबलको बीचको टप सेभेनले सुपर लिग खेल्ने र बटम सेभेनले रेलिगेसन लिग खेल्ने पनि बनाउन सकिन्छ , एन्फाले यस बारे लिग खेल्ने क्लबलाई फ्लोर ओपन गरेको छ र क्लबहरु तयार भए एन्फा त्यो गर्न तयार छ,’ एन्फका लिग निर्देशक सञ्जिव मिश्रले भने।
एन्फाले लिगका लागि एन्फाले दशैँ तिहार लगत्तै ट्रान्सफर विन्डो खुल्ला गर्ने पनि जनाएको छ ।
साधारण सभाले ए डिभिजन लिगदेखि बी र सी डिभिजन लिग मिति पनि अनुमोदन गरेको छ भने फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) का लागि आगामी चैत देखि जेठ सम्मको रिजर्भ डेट राखेको छ ।
एन्फाले बी डभिजन लिग लिग चैत ६ गतेदेखि र सी डिभिजन लिग अर्को वर्ष बैशाख १८ देखि गर्ने जनाएकाे छ ।











