मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मृत फेला
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले नेल्सनको शव सामागाउँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
काठमाडौं, असोज १२ : विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मृत फेला परेकी छन् । मनास्लु हिमालमा सोमबारदेखि बेपत्ता भएकी नेल्सनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
जिम मोरिसनसहित मनास्लु हिमालमा स्की गर्न गएकी नेल्सनको शव बुधबार भेटिएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले नेल्सनको शव सामागाउँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
नेल्सनसँगै स्की गर्न मनास्लु पुगेका मोरिसन भने सकुशल रहेका छन् । नेल्सन मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन्।
नेल्सनले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।
अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

-1786106234.jpg)




-1786106234.jpg)




