Kathmandu Press

बडादशैंको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

नवरात्र अर्थात बडादशैंको आज तेस्रो दिन चन्द्रघण्टाको पूजाआराधना गरिँदै छ।
बडादशैंको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं, असोज १२ : नवरात्र अर्थात बडादशैंको आज तेस्रो दिन चन्द्रघण्टाको पूजाआराधना गरिँदै छ।

नवरात्रका नौ दिन नौ वटा देवीको पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता छ।

त्यसैअनुसार, पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिएको छ भने आज चन्द्रघण्टाको पूजा गरिँदै छ।

चन्द्रघण्टाको पूजा गर्दा वीरता र निर्भयता प्राप्त हुने विश्वास छ। यससँगै सौम्यता र विनम्रता विकास हुने मान्यता रहेको छ।

चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुन्छ। यो मुकुट घण्ट जस्तो देखिने भएकाले चन्द्रघण्टा भनिएको हो। चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतारका रुपमा पनि लिने गरिन्छ।

यससँगै आज काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती र भद्रकालीका मन्दिरमा पूजाआजा गर्न भीड लाग्ने गरेको छ।

काठमाडौं बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामनामा पनि भक्तजनको घुइचो लाग्ने गर्छ।

प्रकाशित मिति: ०७:४३ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्