अञ्जनको ह्याट्रिकमा पहिलो हाफमा नेपाललाई ३–०को अग्रता
१७, २६ र ३८औं मिनेटमा गोल गर्दै स्टार स्ट्राइकर अञ्जन विष्टले नेपाली राष्ट्रिय टिमका लागि पहिलो ह्याट्रिक गरे ।
काठमाडाैं, असाेज ११ : दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा ३–०को अग्रता लिएको छ। अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध ३–०को अग्रता लिएको हो।
खेलको १७औं मिनेटमा मिनेटमा अञ्जनले विमल घर्तिमगरको पासमा हेडिङमार्फत नेपाललाई अग्रता दिलाए । यस्तै, अञ्जनले २६औं मिनेटमा नेपलको अग्रता दोब्बर बनाए । यो पटक उनले तेज तामाङको प्रहार बंगलादेशी किपरले रोकेपछि आएको रिवाउन्डमा गोल गरेका थिए ।
यस्तै, ३८औं मिनेटमा अञ्जनले करिअरको ह्याट्रिक पुरा गरे। यो पटक उनले विशाल राईको फ्रिकिकमा ब्याक हेडिङ गर्दै गोल गरेका थिए ।
यो सँगै अञ्जनले राष्ट्रिय टिममा आफ्नो गोल संख्या १० पु¥याएका छन् । उनले बंगलादेशविरुद्ध नै ४ गोल गरेका छन्।
नेपाल र बंगलादेश यसअघि २४औं पटक भिडिरहेका छन्। जसमा बंगलादेशले १३ खेल जित्दा नेपालले ७ खेल मात्र जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ।











