नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुने

काठमाडौं, असोज ११ : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।
नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौंको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो । यस्तै नवौं राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ ।
नवौंको उद्घाटन र समापन पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ । त्यस्तै खेलाडी, व्यवस्थापक, प्रशिक्षकलाई कोटा अनुसार खेल पोशाक लगाएतका सुविधा उपलव्ध गराइएको बताइएको छ ।
कार्यक्रममा राखेपका सदस्य सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रतियोगीतापछि क्लोज क्याम्पमा राख्ने र अन्य अन्तराष्ट्रिय प्रतियोगीताहरुमा अवसर प्रदान गर्ने बताए। उनले खेल सम्पन्न गर्नका लागि सरकार लगाएत सवैबाट सहयोग प्राप्त भएको र यसअघि भन्दा उत्कृष्ठ ढंगले प्रतियोगीता सञ्चालन गर्ने धारणा राखे।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् ।











