मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’
पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ। पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन् ।
पाल्पा, असोज ११ : सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको। उनी आफ्नै सुरमा बिहान उज्यालो भएदेखि साँझसम्म मादल बनाउनमा व्यस्त हुन्छन् ।
पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ। पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन् । उनी भन्छन्, ‘कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै बुढ्यौली टेकिएछ, यसमै तल्लिन रहेर काम गर्दा उमेर बढ्दै गएको पत्तो पाइएन, यसरी नै जीवन वितिरहेछ।’
पूर्वी पाल्पामै व्यावसायिक रुपमा मादल बनाउन उनी सक्रिय छन्। घरमा बुबाबाट मादल बनाउने सीप सिकेका रामबहादुरले १७ वर्षको उमेरदेखि यस क्षेत्रमा व्यावसायिक रुपमा निरन्तर रुपमा लागेका छन्। यसैबाट उनको परिवारको जीविका चलेको छ। उनले एक दिनमा एउटा मादल तयार पार्छन्।
आकार अनुसार एउटा मादललाई न्यूनतम दुई हजारदेखि बढीमा सात हजार सम्म पर्छ । मादल तयार पार्न कच्चापदार्थ गाउँघरमा उपलब्ध नहुँदा पोखराबाट झिकाएर तयार पार्नुपर्छ । सामान लिन जान समस्या पर्ने गरेको उनको गुनासो छ। ‘मादलको माग बढिरहेको छ, मूल्य पनि राम्रै पाइन्छ तर बाहिरबाट सामान ल्याउन झण्झट छ, स्थानीय सरकारले सामानको बन्दोबस्त गरिदिनुप¥यो, हातमा सीप भएपछि घरमै बसी बसी पैसा हात पर्ने रहेछ,’ उनले भने।
जवानी अवस्थामा एक महिनामा ५० बढी मादल बनाएर बिक्री गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा उहाँलाई रु ५० हजार दिएको थियो। घरमा मादल बनाउन उनलाई कान्छो छोराले सघाएका छन्। बाउ छोराले एक वर्षमा दुई सयदेखि तीन सयसम्म मादल तयार पार्ने गरेको रामबहादुरले बताए। बाउबाजेले धान्दै आएको पुख्यौली पेसा संरक्षण गर्न आफूले बुबाबाट ज्ञान सीप सिकेर यस व्यावसायमा लागेको उहाँका छोरा बेगबहादुर वादी बताउँछन्।
‘गाउँघरमा मादल बनाउने कोही छैनन्, सङ्कटमा परेको यस व्यवसायलाई संरक्षण गर्दै व्यावसायिक रुपमा लागेको छु, निरन्तर लागे यसमा भविष्य छ, बुबाको पेसालाई मैले बुढ्यौलीसम्म धान्ने प्रण गरेर यसमै लागेको छु,’ उनले भने। घामपानी भन्न नपर्ने, घरको पिँढी, कोठामा बसेर काम गरिरहदा यसमा आफ्नो सीप विकास मात्र नभइ समाजमा चिनिने अवसर मिलेको बेगबहादुरले बताए। उनका अनुसार मादल खरिद गर्न ग्राहक घरमै आउछन्।
उनले परिवार धान्ने अन्य पेसा व्यावसाय नभएकाले मादल बनाउने पेसा नै आयआर्जनको मुख्य स्रोतका रुपमा लिएका छन्। भावी सन्ततिलाई पनि बाउबाजेले जसरी नै आफ्नो सीप सिकाउने ईच्छा रहेको बेगबहादुरको भनाइ छ । सङ्कटमा रहेको यस व्यवसायमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्दै व्यवसाय संरक्षण गर्न स्थानीय सरकारले विभिन्न सीपमूलक कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासी हीरा विक बताउँछन् ।‘पूर्वी पाल्पाकै एकमात्र वादी परिवारको बसोबास रामपुरमा छ, हामीले जानेदेखि नै रामबहादुरले मादल बनाउँदै आउनुभएको छ,’ उनले भने, ‘मादलमा आकर्षक बुट्टा भरेर तयार पार्ने कला लोभलाग्दो छ, यस्ता लोपोन्मुख अवस्थामा रहेका पेसा संरक्षणमा स्थानीय निकायले ध्यान दिनुपर्छ।’
पछिल्लो समय मादल बनाउने व्यक्ति अति न्यून हुँदा माग अनुसार उत्पादन हुन सकेको छैन । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेसा अहिले लोप हुने अवस्थामा छ। पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । पुराना पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा उनीहरुको पेसा हराउँदै गएको हो। नयाँ पुस्ताले यसमा चासो नहुँदा अहिले वादी समुदायले मादल बनाउन बिर्सिन थालेका छन्।












