वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छ : दाहाल
सरकारले गर्ने लोकतान्त्रिक कार्यहरुमा आफ्नो पार्टीले समर्थन र जनविरोधी क्रियाकलापहरूमा खवरदारी गर्ने उनले बताए। अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ।
सुर्खेत, जेठ ३: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन् । सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उनले बताए।
कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरु लोकतान्त्रिक नभएको टिप्पणी गरे। आफैंले बोलाएको सदन भोलिपल्ट रोकेर अध्यादेश ल्याएर सरकारले लोकतन्त्रको उपहास गरेको प्रचण्डको भनाई छ।
‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उनले भने, ‘त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईहरुले बुझिरहनु भएकै छ।’
ट्रेड युनियनको खारेजी, विद्यार्थी संगठनहरुको प्रतिबन्ध लगायतका बिषयहरुले सरकार लोकतान्त्रिक बाटोमा छैन भन्ने देखाएको उनको धारणा थियो।
सरकारले गर्ने लोकतान्त्रिक कार्यहरुमा आफ्नो पार्टीले समर्थन र जनविरोधी क्रियाकलापहरूमा खवरदारी गर्ने उनले बताए। अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ।
सरकारका नागरिक अधिकार विरोधी क्रियाकलापहरुले समर्थन गर्न सकिने अवस्था नरहेको उनले बताए।
‘सरकारका राम्रा कामलाई रचनात्मक रुपमा सहयोग गर्नेमा हामी तयार छौं’ उनले भने, ‘लोकतन्त्रको सुदृढीकरण संविधानको रक्षाका लागि हामी सरकारलाई खवरदारी गरिरहन्छौं।’
बदलिँदो परिस्थितिमा प्रदेश सरकारहरु पुर्नगठनका लागि काँग्रेस र एमालेबाट मिलेजर जान प्रस्ताव आएको भएपनि आफ्नो पार्टीले इन्कार गरेको उनले बताए। आफ्नो पार्टी अहिले प्रदेश सरकार परिवर्तनको पक्षमा नरहेको तर सबै पार्टी मिलेर जाने प्रसङ्मा सबै पार्टी मिलेर साझा सरकार बनाउने बिषयमा सहमत हुने प्रस्ताव आफुले प्रस्ताव गरेको उनको भनाई छ।
‘प्रदेश सरकार मिलेर बनाउन कतै एमालेबाट, कतै काँग्रेसबाट प्रस्ताव आइरहेको छ’ उनले भने, ‘यसलाई मैले हाम्रो पार्टीको संयोजकको रुपमा इन्कार गरेको छु। बरु काँग्रेस, एमाले र मदेसबादी दलहरू मिलेर साझा सरकार बनाउने भए हाम्रो सहमति रहन्छ भनेको छु।’












