Kathmandu Press

प्रतिनिधि सभा सदस्यका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने प्रस्ताव 

प्रतिनिधि सभा सदस्यका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने प्रस्ताव 

काठमाडौं, असोज ११ : निर्वाचन आयोगले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने तयारी गरेको छ । 

मंगलबार आयोगले दलहरुसंग छलफल गर्दै बैज्ञानिक तवरले निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको जानकारी दिएको हो । २०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो । 

नयाँ प्रस्ताव अनुसार प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने छन् । निर्वाचन क्षेत्रको मतदाता संख्या, निर्वाचन क्षेत्रको भूगोलको क्षेत्रफल र ०७४ देखि ०७९ सालसम्म भएको मुद्रा स्फितिको दरलाई आधार बनाइएको छ । छलफल पछि कांग्रेसका नेता भिष्मराज आङ्दम्बेले यसअघिको खर्चको सीमालाई हेरफेर गर्ने बिषयमा छलफल भएको बताए। 

त्यस्तै छलफलमा स्थानीय निर्वाचनमा खर्चको बिबरण नबुझाउनेलाई आयोगबाट भएको कारवाहीका बिषयमा पनि ध्यानाकर्षण गराएको र आयोगले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएको उनले बताए। 

नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले खर्चको सीमालाई बैज्ञानिक तवरले अन्तिम रुप दिनुपर्ने सुझाव दिएको बताए। उनले निर्वाचन क्षेत्रको मतदाता संख्या र भूगोलका आधारमा छुट्टाइएको ५ वटा क्लष्टरमा छलफल भएको बताए । उनले समयमा नै खर्चको विवरण नबुझाएको सम्बन्धमा आयोगले जारी गरेको सूचनामा पनि छलफल भएको बताए। 
 
त्यस्तै छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन खर्चलाई क्लष्टरका आधारमा बैज्ञानिक तवरले टुङ्गाउने छलफल भएको र दलहरुको सुझावका आधारमा खर्चको बिषयमा सीमा निर्धारण गर्ने बताए। त्यस्तै स्थानीय निर्वाचनको खर्च नबुझाउने बिषयमा आयोगले कानूनसम्बत नै निर्णय गरेको र कानूनको पालना मात्रै गराएको उनले बताए। 

स्थानीय निर्वाचनको खर्च नबुझाउने बिषयमा आयोगले गरेको निर्णयमा पनि दलहरुसंग पुन छलफल गरि निकास खोज्ने प्रतिवद्धता जनाएको छ ।
 

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्