मनास्लु हिमपहिरोमा परेका दस जनाकै सकुशल उद्धार
सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप ६ जनाको आज बिहान उद्धार गरिएको गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।
गोरखा, असोज ११ : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ ।
मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।
मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौँ टिचिङ अस्पताल लैजाने तयारी भइरहेको छ। हिमपहिराेमा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको एसपी खनालले जानकारी दिए । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप ६ जनाको आज बिहान उद्धार गरिएको उनले बताए।
आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको एसपी खनालले जानकारी दिए। ‘
सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ,’ उनले भने, ‘उनीहरुलाई राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ।’
पहिरोमा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए। हिमपहिरामा परेकाहको उद्वारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो।

-1786106234.jpg)




-1786106234.jpg)




