राप्रपाको सहअध्यक्ष बन्दै रवीन्द्र मिश्र, पार्टी एकता भोलि
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएका छन्।
काठमाडौं, असोज ११ : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएका छन् ।
यसका लागि उनले विवकेशील साझा पार्टीको साधारण सदस्यबाट मंगलबार बिहान राजीनामा दिइसकेका छन् । पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई बुझाएको राजीनामा पत्रमा मिश्रले नेपालमा बृहत् र विश्वासिलो नरम संवद्र्धनवादी (मडरेट कन्जरभेटिभ) राष्ट्रवादी शक्तिको निर्माणका लागि बृहत धु्रविकरणमा लागेको र सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रुप लिन लागेको उल्लेख गरेका छन् ।
यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेदका कारण विवादित भएका थिए । सोही कारण पार्टी नै दुई समूहमा विभाजित भएको थियो । पार्टीभित्र नेतृत्वदायी भूमिका खेल्न नसकेका मिश्रलाई भित्र्याउन राप्रपाले यसअघिदेखि नै छलफल चलाउँदै आएको थियो ।
मिश्रलाई सहअध्यक्ष बनाउने गरी राप्रपाले पार्टीमा भित्र्याउन लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षबीच एकता घोषणा कार्यक्रम राखिएको जानकारी दिए । कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे हुने बताइएको छ।

-1786106234.jpg)




-1786106234.jpg)




