संघपछि प्रदेश सीट बाँडफाँडमा जुट्दै गठबन्धन कार्यदल

काठमाडौं, असोज ११ : सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदल आजदेखि प्रदेशका सीट बाँडफाँडमा जुट्न लागेको छ।
कार्यदलले यसअघि प्रतिनिधिसभाका १६५ सीट बाँडफाँड गरेर शीर्ष नेतालाई प्रतिवेदन बुझाएको थियो। त्यसमाथि शीर्ष नेताले छलफल गरिरहेका छन्।
प्रतिनिधिसभाको सीट बाँडफाँडमा लगभग सहमति नजिक पुगेको जनाइएको छ। केही सीटमा दोहोरो दाबी रहेकाले शीर्ष नेताबीच छलफल गर्न बाँकी रहेको जनाइएको छ।
यससँगै गठबन्धन कार्यदलको बैठक आज बस्न लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेशका सीट बाँडफाँडमा छलफल हुने जनाइएको छ।
सोमबारको बैठकमा पनि प्रदेशका सीट बाँडफाँडमा छलफल भएको कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बताए। उनका अनुसार प्रतिनिधिसभा सदस्यको सीट बाँडफाँडकै आधारमा प्रदेश सभाको पनि सीट बाँडफाँड गरिनेछ।
सातै प्रदेशका तीन सय ३० सीटको खाका बनाएर शीर्ष नेतालाई बुझाइने भएको छ। त्यसका लागि आज बैठक बस्न लागेको उनले बताए।

-1786106234.jpg)




-1786106234.jpg)




