रवीन्द्र मिश्रले छाडे विवेकशिल साझा
राजनीतिक ध्रुवीकरणमा लागेको र त्यसले मूर्तरुप दिन पार्टी परिवर्तन गर्नु पर्ने भएकाले विकेशील साझा छोड्नु परेको उल्लेख गरेका छन्।काठमाडाैं, असाेज १० : रवीन्द्र मिश्रले विवेकशील साझा पार्टी छाडेका छन् । मिश्रले सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र बुझाउँदै विवेकशील साझा छाडेका हुन्।
मिश्रले सोमबार साँझ सामाजिक सञ्जालमार्फ राजीनामा सर्वाजनिक गर्दै विवेकशील साझ छाडेको बताएका छन् । उनले राजनीतिक ध्रुवीकरणमा लागेको र त्यसले मूर्तरुप दिन पार्टी परिवर्तन गर्नु पर्ने भएकाले विकेशील साझा छोड्नु परेको उल्लेख गरेका छन्।
‘झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम सम्वर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ,’ राजीनामा पत्रमा मिश्रले लखेका छन्, ‘अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरी मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको छु।’
मिश्रले विवेकशील साझा छाड्ने आफ्नो निर्णय जीवनकै सबैभन्दा कठीनतम निर्णय भएएको उल्लेख गरेका छन् । उनले आफैंले नेतृत्व गरेको पार्टी फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज नभएको बताएका छन् ।
‘राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो’ राजीनामा पत्रमा लेखिएको छ।
साथै उनले विश्वासिलो, बलियो र रूपान्तरणकारी नरम सम्वर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि आग्रह गरेका छन् ।
स्थानीय निर्वाचनमा पार्टी पराजित भएपछि मिश्रले विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए । विवेकशील साझा छाडेका मिश्र सम्भवतः राप्रपा प्रवेश गर्ने छन्। राप्रपामा मिश्रलाई उपाध्यक्ष दिने विषयमा छलफल भइरहेको छ।