Kathmandu Press

लोकतन्त्र र संविधानलाई उल्टाउने प्रयास भइरहेका छन् : प्रचण्ड 

उनले तत्काल प्रधानमन्त्री बन्न भन्दा देश र जनताको समृद्धि, आर्थिक विकास, लोकतन्त्र र संविधानको रक्षा र सुदृढिकरण नै पहिलो प्राथमिकतामा रहेको बताए। 
लोकतन्त्र र संविधानलाई उल्टाउने प्रयास भइरहेका छन् : प्रचण्ड 

काठमाडौं, असोज १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेपनि लोकतन्त्र र संविधानलाई उल्टाउने प्रयासहरु भइरहेको बताएका छन् । 

प्रेस सेन्टर चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तनलाई कसरी उल्टाउने भनेर एकथरी तत्व निरन्तर लागिरहेको बताएका हुन् । 

‘अहिले पनि एकथरी तत्व सविधान, लोकतान्त्रिक गणतन्त्र र सिंगो परिवर्तनलाई कसरी उल्टाउने होल भनेर लागेकै छन्,’ उनले भने, ‘ठूला परिवर्तन ल्याउन त्याग, तपस्या, वलिदान र संघर्ष गर्ने नेताहरुलाई के गरी बदनाम गर्नेहोला भनेर मानिसहरु लागेकै छन्।’

अध्यक्ष प्रचण्डले नेपालमा मात्र नभई विश्वकै इतिहासमा पनि प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने खतरा  र षड्यन्त्र रहिरहने बताए । ‘कहिलेकाँही त त्यो षड्यन्त्र सोँचेभन्दा पनि कैयौं गुणा बलियो भएर आउने गर्दो रहेछ,’ उनले भने, ‘यो अब अन्त्य भयो भन्ने नै हुँदैन । लड्दैलड्दै अन्तत्वगत्व को विजय हुन्छ भन्ने कुराको फैसला हुने हो ।   

नेपालमा त्यस्तो षड्यन्त्रलाई निस्तेज पार्नका लागि आउँदो संसदीय निर्वाचनमा जनताले विवेकको प्रयोग गर्नुपर्ने प्रचण्डले बताए । जनताले नै परिवर्तनको रक्षा गर्नुपर्ने बताउँदै उनले मंसिर ४ गते प्रतिगमनलाई  पराजित गर्दै मुलुकलाई अग्रगमनको दिशातर्फ लैजान आग्रह गरे । 

 त्यसो भन्दै गर्दा आफूमा प्रधानमन्त्री बन्न खोजेको आरोप आउने गरेको पनि बताए । उनले तत्काल प्रधानमन्त्री भन्दा देश र जनताको समृद्धि, आर्थिक विकास, लोकतन्त्र र संविधानको रक्षा र सुदृढिकरण नै पहिलो प्राथमिकतामा रहेको बताए। 

प्रधानमन्त्री नै बन्न चाहेको भए आफूलाई ०७४ मै पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने अफर आएको उनले सुनाए । ‘त्यसपछि पनि आए । अहिले भर्खरै पनि आइरहेको छ । । प्रधानमन्त्री मुख्य होइन । राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढिकरण र आर्थिक विकासको वातावरण बनाउने, आफूलाई त्यस्को निम्ति समर्पित गर्ने मेरो कमिटमेन्ट हो,’ उनले भने । 
 

 

प्रकाशित मिति: ११:३३ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्