धर्मले लन्डन म्याराथन खेल्ने

काठमाडाैं : भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन्।
धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।
विश्वकै अन्य प्रतिष्ठित बोस्टन म्याराथन र बर्लिन म्याराथन दौडिसकेका धर्म पहिलो पटक लन्डन म्याराथनमा सहभागी हुन लागेका हुन्। उनले ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन्।
घरेलु म्याराथनमा उनको उत्कृष्ट टाइमिङ २ घण्टा ३५ मिनेट रहेका छ भने अन्तर्राष्ट्रिय म्याराथनमा उनको उत्कृष्ट प्रदर्शन २ घण्टा ४७ मिनेट हो। बर्लिन म्याराथनको टाइमिङका आधारमा लन्डन म्याराथनका लागि छनोट भएको धर्मले जनाएका छन्। धर्म एसियाली मास्टर्स एथलेटिकसको १० हजार मिटर दौडका कांस्य विजेता हुन्।











