व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : अध्यक्ष दाहाल

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन। माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताए।
'निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन,' उनले भने, 'घर आँगन बदल्ने, उज्यालो ल्याउने, सम्वृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ।' देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उनले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको बताए।
चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उनले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।'चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईंहरुलाई प्राप्त हुने छ।' चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उनले बताए। आफूले यो राष्ट्रका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदाय सबैलाई सम्वृद्धिको उचाइमा लाने सपना बोकेको उनको भनाइ थियो ।

-1786106234.jpg)




-1786106234.jpg)




