ज्ञानको निर्माण एकाङ्की हुनुहुँदैन : डा भट्टराई

काठमाडौं, असोज ९ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ज्ञानको निर्माण एकाङ्की हुन नहुने बताउँदै सरोकारवालासँगको छलफल र सुझावका आधार तयार गरिने ज्ञानले मात्र जनताका समस्या समाधान गर्नसक्ने उल्लेख गरेका छन् ।
नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले सूचना सङ्कलनले मात्र ज्ञान निर्माण नहुने भएकाले सिद्धान्तका विषयलाई व्यवहारमा समेत जोड्नुपर्ने धारणा व्यक्त गरे।
मुलुकको द्रुततर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता औँल्याउँदै उनले भने, ‘केही दशकयता हामीले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि छिमेकी मुलुक र विश्वको तुलनामा अझै धेरै काम गर्नुछ, गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थुप्रै काम गर्न बाँकी छ, तसर्थ नवप्रवर्तनका लागि ‘थिङ्क ट्याङ्क’को आवश्यकता टड्कारो छ।’
‘थिङ्क ट्याङ्क’ संस्थाले ज्ञान निर्माण गर्दा अनावश्यकरुपमा कसैको पनि पक्षपोषण गर्न नहुनेमा जोड दिँदै उनले तथ्य र ज्ञानका आधारमा सत्तासिन व्यक्तिलाई जनउत्तरदायी बनाउनुपर्ने बताए।
नेपाल जस्तो विविधतायुक्त मुलुकमा अनुसन्धान गर्दा वा ज्ञान निर्माण गर्दा समावेशीतालाई अनिवार्य आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो।

-1786106234.jpg)




-1786106234.jpg)




