बंगलादेशसँग खेल्न राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त
नेपालले असोज ११ गते घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
काठमाडाैं, असाेज ९ : बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त भएको छ।
आइतबार नेपाली राष्ट्रिय टोलीले ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन्। नेपालले असोज ११ गते घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
उक्त खेलका लागि नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमाँगाईले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका गरिसकेका छन्।
टोलीमा तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपछि बाहिरिएका १० मध्य ९ जना खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
रोहित चन्दसहित विशाल राई, अनन्त तामाङ, सुजल श्रेष्ठ, विमल घर्ती मगर, अन्जन विष्ट, विशाल श्रेष्ठ , दिनेश राजबंशी, तेज तामाङले राष्ट्रिय टीममा पुनरागमन गरेका छन्।
सुमन लामा भने अष्ट्रेलिया गईसकेका छन्। अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउदै विरोध स्वरूप माल्दिभ्समै बसेका तत्कालिन कप्तान किरण चेम्जोङ पनि टोलीमा फर्किएका छन्।
नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको टोली नेपाल आइसकेको छ।











