राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं, असोज ९ : राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीत नगरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आइतबार पनि पेशी चढेको छ । शुक्रबार समयअभावका कारण हेर्न नभ्याइनेमा परेको रिट आजको पेशी हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ रिट दर्ता भएका थिए ।
तीमध्ये देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् भने अधिवक्ता सागर बराल र अधिवक्ता डा। सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाबाट दोस्रो पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको भन्दै उनको कदम विरुद्ध रिट दायर भएका हुन् ।
रिटमा नागरिकता विधेयक स्वतः प्रमाणीत भएको परमादेश माग गरिएको छ ।











