राजनीतिमा युवाहरुको चासो बढ्नु सकारात्मक : सिंह
शनिबार मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
काठमाडौं, असाेज ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरुको बिस्तारै चासो बढ्नु सकारात्मक भएको भन्दै युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोडदिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरि काम गर्ने उनले बताए। नेता सिंहले संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेको जिकिर गरे।
कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको भन्दै उनले कांग्रेस संसदमा बलियो भएपछि मात्र संविधान जारी भएको दाबी गरे।