४० प्रतिशत सिट सुनिश्चित गर्न कांग्रेस असन्तुष्ट समूहकाे माग
कार्यक्रममा सहभागी नेताहरुले पार्टी सभापति गठबन्धनलाई मात्रै च्यापेर अघि बढेको र पार्टीभित्रकै नेता तथा कार्यकर्तालाई बेवास्ता गरेको आरोप लगाएका थिए।
काठमाडाैं, असाेज ८ : नेपाली कांग्रेसकाे असन्तुष्ट समूहले पार्टीभित्र ४० प्रतिशत सिट सुनिश्चितता गर्न माग गरेको छ।
शनिबार काठमडौंमा आयोजित खबरदारीसभामा उनीहरुले आफुहरुको मागको सुनुवाइ नभए आगामी निर्वाचनमा जित्न सहज नहुने चेतावनी समेत दिएका छन्।
आफुहरुको मागका बिषयमा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइएको भन्दै उनीहरुले यस बिषयमा गम्भीर हुन पनि आग्रह गरेका छन्।
कार्यक्रममा कांग्रेस नेता गुरु घिमिरेले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता नभए बिद्रोह हुने चेतावनी दिए। उनले गुटलाई प्रश्रय दिए पार्टी अघि बढ्न नसक्ने बताए।
त्यस्तै कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले समानुपातिक सूची सच्याउन ध्यानाकर्षण गराए। उनले पार्टीमा योगदान गरेका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने जिकिर गरे।
त्यस्तै कांग्रेस युवा नेता मनोजमणि आचार्यले पार्टीभित्र न्यायोचित टिकट वितरण हुनुपर्ने भन्दै त्यसो हुन नसके ४० प्रतिशत चाहिने स्पष्ट पारे।
कार्यक्रममा सहभागी नेताहरुले पार्टी सभापति गठबन्धनलाई मात्रै च्यापेर अघि बढेको र पार्टीभित्रकै नेता तथा कार्यकर्तालाई बेवास्ता गरेको आरोप लगाएका थिए।











