Kathmandu Press

यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति

मुलुकका धेरै ठाउँमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि तथ्यांकमा गत वर्षभन्दा यसपाली विपद्जन्य घटना र मानवीय क्षति न्यून देखियो।
यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति

काठमाडाैं, असाेज ८ : यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो।

ती ठाउँका पहिरामा पुरिएर २२ जनाको मृत्यु भयो। उक्त घटना, यो वर्षकै ठुलो मानवीय क्षति भएको विपद्जन्य घटना हो। भारी वर्षापछि जिल्लाको तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाकाको बस्तीमा खसेको पहिराले सो क्षति पुर्‍याएको थियो। 

उदयपुरको बेलका नगरपालिकाबाट कोसी नदीले धार परिर्वतन गरी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पार्‍यो। मानवीय क्षति भएन। दार्चुलामा महाकाली नदीले ठुलै विपत्ति निम्त्यायो। जिल्ला सदरमुकामनै प्रभावित भयो।

खोटाङमा भूकम्पले सयौँ घरमा क्षति पुर्‍यायो। काठमाडौँ कपनमा अक्सिजन सिलिण्डर विष्फोटपछिको आगलागीमा तीन जनाको निधन र धेरै सम्पत्ति क्षति भयो। अन्य जिल्लामा केही मानवीय र भौतिक क्षति हुने गरी विपद्का घटना भए।

मुलुकका धेरै ठाउँमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि तथ्यांकमा गत वर्षभन्दा यसपाली विपद्जन्य घटना र मानवीय क्षति न्यून देखियो। 

अघिल्लो वर्ष विपद्जन्य घटनामा चार सय ९० को मृत्यु भयो। यस वर्ष एक हजार सात सय ९१ विपद्जन्य घटनामा दुई सय २२ जनाले ज्यान गुमाए।

अझै १३ बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ती घटनामा पाँच सय २७ घाइते भए। दुई हजार तीन सय २७ परिवार प्रभावित भए। ती घटनामा अहिलेसम्म एक अर्बको क्षति भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ। 

यसपालीको घटनामध्ये चट्याङबाट बढी मानवीय क्षति भयो। चट्याङले ७२ र पहिराले ५५ को ज्यान गयो। आगलागीबाट २६, जनावरको आक्रमणबाट २१ तथा बाढीबाट १५ को मृत्यु भयो। भारी वर्षा, हुरीबतास, वन डढेलोलगायतबाट मानवीय क्षति भयो।

बढी घटना र बढी भौतिक क्षति आगलागीबाट भएको छ। हालसम्म मुलुकमा आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसबाट रु ८२ करोड ७१ लाख क्षति पुगेको छ। बाढीबाट धेरै ९११ जना बेपत्ता भए। 

यसपाली मुलकुभर बाढीका दुई सय ३९ घटना भएकोमा त्यसबाट ५५ को मृत्यु, एक बेपत्ता, ४६ घाइते र दुई सय २९ घर प्रभावित भए। पहिराले रु आठ करोड ५५ लाख क्षति भयो। 

चट्याङका दुई सय १९ घटनामा ७२ को निधन, एक सय ९५ घाइते, तीन सय ३३ परिवार प्रभावित र ३५ लाखको क्षति भएको जनाइएको छ। त्यस्तै आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसमा २६ को मृत्यु, एक सय ३३ घाइते, नौ सय ८४ घर प्रभावित र रु ८२ करोड ७१ लाखको क्षति भएको छ। 

हुरीबतास र भारी वर्षाका दुई सय १५ घटना भएकोमा १४ को मृत्यु, ४५ घाइते, चारसय परिवार प्रभावित र रु पाँच करोड २५ लाखभन्दा बढीको क्षति भएको छ। एक सय ८७ वन डढेलो र जनावरको आक्रमणका घटनामा २२ को मृत्यु, ८५ घाइते, दुई सय ३१ परिवार प्रभावित र रु एक करोड ६२ लाखको क्षति भएको छ।

२०७७ सालमा बाढीबाट ४२ र पहिराबाट तीन सय एकसहित विभिन्न घट्नामा पाँच सय ९१ को मृत्यु भयो। बाढीबाट ३७ र पहिराबाट ६४ सहित एक सय एक बेपत्ता भए। 

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्