Kathmandu Press

ब्राजिल र अर्जेन्टिनाको सहज जित

शुक्रबार राति भएको खेलमा ब्राजिलले घाना र अर्जेन्टिनाले होन्डुरसमाथि समान ३–०को जित निकाले।
ब्राजिल र अर्जेन्टिनाको सहज जित

मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिका मुलुक ब्राजिल र अर्जेन्टिनाले सहज जित निकालेका छन्। शुक्रबार राति भएको खेलमा ब्राजिलले घाना र अर्जेन्टिनाले होन्डुरसमाथि समान ३–०को जित निकाले।

शुक्रबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले २ तथा मार्किन्हसले १ गोल गरे।  ब्राजिलले पहिलो हाफको ३९ मिनेटभित्रै ३–० को अग्रता बनाएको थियो।

ब्राजिलले नवौं मिनेटमा मार्किन्हसको गोलमा अग्रता लियो। २८औं मिनेटमा नेइमारको पासमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे। ३९औं मिनेटमा नेयमारकै पासमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए ।

यो जितसँगै ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। कोपा अमेरिका फाइनलमा अर्जेन्टिनासँग पराजित भएयता उ अपराजित छ।

यस्तै, लियोनल मेसी चम्किएपछि अर्जेन्टिनाले होन्डुरसमाथि ३–०को जित निकाल्यो। अर्जेन्टिनाको जितमा मेसीले २ तथा लोउटारो मार्टिनेजले १ गोल गरे।

मियामीस्थित हार्ड रक स्टेडियममा खेलको १६औँ मिनेटमा मार्टिनेजको गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा मेसीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।
६९औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।  त्यसपछि खेलमा कुनै गोल भएन र खेल अर्जेन्टिनाले ३-० ले जित्यो।

२०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना ३४ खेलमा अपराजित छ।

अर्को मैत्रीपूर्ण खेलमा बुधबार ब्राजिलले ट्युनिसिया र अर्जेन्टिनाले जमैकासँग खेल्ने छन्।

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्