सीट बाँडफाँडका लागि आज पनि गठबन्धनको बैठक
आगामी चुनावमा लागि सीट बाँडफाँड गर्न आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।
काठमाडौं, असोज ८ : आगामी चुनावमा लागि सीट बाँडफाँड गर्न आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच सीट बाँडफाँडमा सहमति बन्न सकेको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा पनि सीट बाँडफाँडकै विषयमा छलफल भएको थियो।
लामो समय चलेको बैठकमा दुई वा दुई भन्दा बढी दलले दाबी गरेका निर्वाचन क्षेत्रमा सहमति जुट्न सकेन। त्यसका लागि आज फेरि गठबन्धनको बैठक बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
पाँच दलबीच एक सय सीटमा सहमति जुटेको छ। त्यसमा पाँच दलको एकल दाबी रहेको छ।
बाँकी ६५ सीटमा भने दुई वा दुईभन्दा बढी दलले दाबी गरेका छन्। त्यसमा सहमति जुटाउन दुई पक्षीय र त्रिपक्षीय छलफल भएको मन्त्री कार्कीले बताए।
गठबन्धनको बैठकमा कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गरेका थियो। प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ सीट छन्।
आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेता सहभागी हुने जनाइएको छ।











