पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक सञ्चालन
पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
भरतपुर, असोज ८: पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो। पहिरोले गएरातिबाट सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाएर सडक सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।
चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।
प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











