पौडी खेल्दा खोलामा बगेर तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौँडाका तीन जना बालकको मृत्यु भएको छ।
हेटौंडा, असोज ८ : पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौँडाका तीन जना बालकको मृत्यु भएको छ।
हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर तीन बालक वेपत्ता भएका थिए। तीनै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।
उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको हो।
पौडी खेल्ने क्रममा खोलामा चार जना बगेका थिए। एक जना पौडी खेलेर बाहिर निस्कन सफल भएको घिमिरेले बताए।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ०६:४० बजे, शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











