विद्युत उत्पादन, वितरण र व्यापारमा मुलुक नयाँ चरणमा प्रवेश गरेको छ : ऊर्जामन्त्री भुसाल
नेपाली जनताले खपत गरेर बढी भएको विद्युतलाई मात्रै भारत लगाएत बंगलादेशलाई वितरण गरिने उनको भनाइ थियाे।
काठमाडाैं, असाेज ७ : ऊर्जामन्त्री पम्फा भुसालले विद्युत उत्पादन, वितरण र व्यापारमा मुलुक नयाँ चरणमा प्रवेश गरेको बताएकी छन्।
शुक्रबार काठमाडौंमा नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औं एकता अधिवेशन उद्घाटन गर्दै मन्त्री भुसालले विधुतको उत्पादनका साथै सहज वितरण र आफ्नै कार्यकालमा सुरु भएको विद्युत व्यापार मुलुकको नयाँ कोसेढुंगा साबित हुने बताए।
नेपाली जनताले खपत गरेर बढी भएको विधुतलाई मात्रै भारत लगाएत बंगलादेशलाई वितरण गरिने उनको भनाइ थियाे। उनले उपयुक्त ठाउँमा उपयुक्त क्षमताको प्रदर्शन कर्मचारीहरुले देखाएका कारण प्राधिकरण सफलताको बाटोमा अघि बढेको धारणा राखे।
मुलुकको आर्थिक बिकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको उनले बताइन्। मन्त्री भुसालले बंगलादेशको संयुक्त लगानीमा सुनकोसी ३ अघि बढ्ने, अपर कर्णाली र दुधकोसीलगायत आयोजना अघि बढ्ने चरणमा रहेको जानकारी दिए।
१२ सय मेगावाट उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकीलाई पनि अघि बढाउने गरी मन्त्रालयले काम अघि बढाएको उनले बताइन्।











